झन्डै दुई महिनापछि हङकङमा नयाँ कोरोना संक्रमित नदेखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
केही समययता हङकङमा कोरोना भाइरसको प्रभाव घट्दै गएको छ। लगातार आठ दिन हङकङमा एक अंकको संख्यामा कोरोना संक्रमित बढेका थिए। आइतबार हङकङमा दुई जनामा कोरोनाको संक्रमण देखिएको थियो।
यसबीचमा सोमबार भने कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको हो।
यसैवर्षको जनवरी २३ मा हङकङमा पहिलो व्यक्तिमा कोरोनाको पुष्टि भएको थियो। यसअघि मार्च ५ मा पनि एक जनामात्र कोरोना संक्रमित भेटिएका थिए।
हाल हङकङमा एक हजार २५ जना कोरोना संक्रमित छन्। कोरोनाका कारण त्यहाँ चार जनाको मृत्यु भएको छ।
विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।
यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।
हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।
उनीहरु सबैलाई सरकारले विद्युतीय रिस्ट ब्याण्डबाट निगरानी गर्दछ। क्वारेन्टिनमा बस्ने सबैलाई रिस्टब्याण्ड अनिवार्य लगाउनु पर्दछ।
हाल हङकङमा भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ। यहाँ चार जनाभन्दा बढी मानिस एकसाथ देखिए कारवाही गरिन्छ। एससीएमपी
प्रतिक्रिया