हङकङमा कोरोना भाइरस संक्रमण नाटकीय रुपमा बृद्धि भएपछि रोकथामका लागि सरकारले शुक्रबार साँझ नयाँ नियम जारी गरेको छ।
जसअनुसार आइतबारबाट २ हप्ताका लागि सार्वजनिक जमघटमा चार जनाभन्दा बढी हुन बन्देज लगाइएको छ। यो नियम तोड्नेहरुलाई हङकङ डलर २५ हजार जरिवाना सहित ६ महिना जेल सजाय हुन सक्नेछ। तर यो नियम कार्यस्थल, सार्वजनिक यातायात, अदालत, सरकारी भवन, संसद वा जिल्ला परिषद बैठक, विवाह र अन्त्येष्टिमा भने लागू हुने छैन। साथै निजी बन्दोबस्तका भेटघाटमा पनि यो नियम लागू हुने छैन।
यो नियम लागू भएपछि रेस्टुरेन्टहरुले आफ्ना ग्राहकको संख्या आधा घटाउनु पर्नेछ। प्रति टेबल १.५ मिटरको दूरीमा चार जना ग्राहकलाई मात्र सेवा प्रदान गर्न सकिने छ। २८ मार्च, शनिबार साँझ ६ बजेबाट अप्रिल ११ अपरान्हसम्म सबै सिनेमा घर, ब्यायामशाला, अन्य मनोरन्जन स्थल, बिबिक्यु र क्याम्पिङ साइटहरु बन्द हुनेछन्।
बार र रेस्टुरेन्टहरूमा मदिराको बिक्रीमा भने रोक लगाइएको छैन।
अन्य देशहरूमा लागू गरिएको जस्तो सिधै लकडाउन नगरी सरकारले सार्वजनिक जमघट कम गर्दै जाने निर्णय लिएको हो। सरकारको यो घोषणालाई व्यापारिक नेताहरू र चिकित्सा क्षेत्रले सतर्कताका साथ स्वागत गरेका छन्।
लान क्वाइ फोङ समूहका अध्यक्ष एलन जेमानले प्रमुख कार्यकारी क्यारी लामको यो कदमलाई स्वागत गरेका छन्।
‘यो एक बुद्धिमतापूर्ण निर्णय हो, मलाई लाग्छ क्यारी लामले यो निर्णय लिनुपूर्व आतिथ्य उद्योगका सदस्यहरूसँग धेरै छलफल गरिन्’, उनले भनेका छन्, ‘वास्तवमा रक्सी प्रतिबन्ध लगाउनु अर्थपूर्ण थिएन। किनकी बार र रेस्टुरेन्टमा रक्सी बेच्न बन्देज लगाए पनि मानिसहरूले खुद्रा पसलमा खरीद गरी पिउन सक्थे र, आफ्नो घर कम्पाउन्डमा मनलाग्दो संख्यामा भेला भएर भोजभतेर गर्न सक्थे।’
हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट डा सिद्धार्थ श्रीधरका अनुसार जमघट घटाउने सरकारको निर्णय राम्ररी पालना गर्न सके कोरोना संक्रमण रोक्न सहयोग पुग्नेछ।
‘मानिसहरू रेस्टुरेन्टमा भेला हुने निश्चित संख्या र दुरीको नियमलाई म समर्थन गर्छु, यसको यथोचित प्रभावकारी कार्यान्वयन हुनुपर्छ’, उनले भने।
तर मेडिकल एसोसिएसनका एक स्वास्थ्य विशेषज्ञले मनोरञ्जन स्थलबाट फैलिने कोरोना भाइरसको बढ्दो संख्यालाई मध्यनजर गर्दै सबै बार रेस्टुरेन्टहरु १४ दिन बन्द गर्न सरकारसँग आग्रह गरेका छन्। हङकङको नाइट लाइफ स्थल लान क्वाइ फोङ क्षेत्रमा कोरोना संक्रमितको संख्या बढी भेटिएपछि बारहरू बन्द गर्न माग भएको हो।
संक्रमित रोग सम्बन्धि एसोसिएसनको परामर्श समितिका अध्यक्ष डा लेउङ ची चिउले बारहरुमा फैलिएको भाइरसलाई समयमै रोक्न कडा कदम चाल्न नसके हङकङ केही समयमै तहसनहस हुन सक्ने चेतावनी दिएका छन्।
उनले भने, ‘जबसम्म हामी त्यस्ता संक्रमित स्थलहरु बन्द गर्न दृढ कदम चाल्दैनौं, तबसम्म दिनमा दुगुना रातमा चौगुना संक्रमण बढेर जानेछ।’
शिलबन्दी शुरु
सरकारको शुक्रबारको घोषणा लगत्तै सार्वजनिक स्थल, फुटबल, टेनिस, बास्केट बल कोर्टहरु, बिबिक्यू स्थलहरु शिलबन्दी शुरु भएको छ। १४ दिने बन्द अवधिमा कसैलाई पनि खेल मैदान, पार्क, बिबिक्यू स्थल तथा शिविरमा जान अनुमति दिइने छैन।
कृषि, मत्स्यपालन र संरक्षण विभागले नजिकबाट यो परिस्थितिको अनुगमन र समीक्षा गर्नेछ। नियम उल्लंघन गर्नेले २५ हजार डलर सहित ६ महिना जेल सजायको सामना गर्नु पर्नेछ।
नेपाली नयाँ वर्ष डान्स पार्टी स्थगित
सरकारले सार्वजनिक स्थलमा जमघट घटाउने घोषणा गरेपछि अप्रिल १२ मा हुन लागेको नेपाली नयाँ वर्ष डान्स पार्टी स्थगित भएको छ। जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा आयोजना गर्न लागिएको नयाँ वर्ष डान्स पार्टी स्थगित गरिएको हो।
सरकारको कदमलाई साथ दिँदै पार्टी बन्द गरेको रेस्टुरेन्टका म्यानेजर तीर्थ राईले बताइन्।
‘स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी आफ्ना ग्राहकको स्वास्थ्यलाई प्राथमिकतामा राख्छौं’, राईले भनिन्, ‘सरकारको कदमलाई साथ दिनु हाम्रो कर्तब्य हो, त्यसैले कार्यक्रम स्थगित गरेका हौं।’
जोर्डनकै ब्लु ओसन रेस्टुरेन्टमा आयोजना गर्न लागिएको नयाँ वर्ष पार्टी पनि स्थगित भएको आयोजक रजिन मगरले बताए।
‘आफ्ना सहयोगी तथा शुभचिन्तकहरुको सुझावलाई मध्यनजर गर्दै पार्टी स्थगित गरिएको हो,’ उनले भने, ‘यस्तो अवस्थामा पार्टी गरियो भने सामाजिक आलोचना खेप्नु पर्ने हुन्छ। शरीर स्वस्थ रहे अर्को साल मनाउने अवसर मिल्छ, त्यसैले रद्द गर्ने निर्णय गरेका छौं।’
बिकल्पको खोजी
वोङ ताई शिन निवासी ४५ वर्षीय वोङ कित चेउङ ब्याडमिन्टन प्रेमी हुन्। उनले स्वास्थ्य र मनोरञ्जनका लागि लामो समयदेखि खेल्दै आएका छन्।
कोरोना महामारीले इन्डोर ब्याडमिन्टन कोर्टहरु बन्द भएपछि काउलुन पार्कको आउटडोरमै भएपनि धित मार्न रेल चढेर खेल्न आइपुग्छन् उनी।
‘ब्याडमिन्टन खेलको लत लागेको छ, एक दुई दिन सटल हान्न पाइएन भने तलतल शुरु हुन्छ, त्यसैले उति टाढाबाट साथीहरुसँग खेल्न आएको हुँ’, उनले भने, ‘कोर्ट राम्रो नभए पनि हुँदै नहुनु भन्दा यति बिकल्पले पनि सन्तुष्ट लिन परेको छ।’
सरकारको निर्णयबारे अनभिज्ञ
पोखरा स्थायी घर भएका ६२ वर्षीय गुरुङ थरकी एक महिला सार्वजनिक स्थलमा जमघट घटाउने सरकारको निर्णय थाहा नभएको बताउँछिन्।
१० वर्षदेखि जोर्डनमा बस्दै आएकी उनी हरेक बिहान काउलुन पार्कमा साथीहरूसँग वाकिङ निस्कन्छिन्। लामो समयबाट वाकिङ गर्दै आएकी उनले कोरोना भित्रिएपछि पनि आफ्नो दैनिकी रोकेकी छैनन्।
‘श्रीमान काम गर्ने भएकोले ब्यस्त हुनुहुन्छ, छोराछोरी नेपालमै छन्, सरकारले के नियम ल्याएको छ मलाई खासै थाहा भएन,’ उनले भनिन्।
गत शुक्रबार मात्र ६५ नयाँ संक्रमित फेला परेपछि सरकारले यो नयाँ नियम लागू गरेको हो। हङकङमा दुई हप्ताअघिसम्म १३८ जना मात्र संक्रमित थिए, जुन बढेर शुक्रबार ५१८ पुगेको छ। संकट बढेपछि सरकारले नियम कडा बनाउँदै लगेको हो।
नयाँ नियम घोषणा गर्दै शुक्रबार प्रमुख कार्यकारी क्यारी लामले हङकङले सार्वजनिक स्वास्थ्य बारे आपतकालिन परिस्थितिको सामना गरिरहेको बताएकी थिइन्। कडा कदमहरूले संक्रमण रोक्ने आशा उनको छ।
‘सबैले आत्मसंयम प्रयोग गरेर आफु र समुदायलाई सहयोग पुर्याउने कुरामा म आशावादी छु,’ उनले भनिन्।
प्रतिक्रिया