हङकङ अब्जर्भेटरीले बिहीबार साँझ ६:२० मा टाइफुन संकेत नम्बर ८ जारी गरेको छ।
टाइफुन यागी हङकङबाट ३४० किलोमिटर दक्षिणमा रहेको अनुमानसहित टी८ संकेत जारी गरिएको थियो। पौने ८ बजे अद्यावधिक बुलेटिनमा भने ३३० किलोमिटरको दूरीमा आइपुगेको बताइएको छ। यो संकेत कम्तीमा शुक्रबार दिउँसोसम्म कायम रहने अब्जर्भेटरीले जनाएको छ।
यागी दक्षिण चीन सागरको उत्तरी भागमा करिब १५ किलोमिटर प्रतिघण्टाको दरले उत्तरपश्चिम सर्ने आँकलन गरिएको छ।
‘हालको पूर्वानुमानअनुसार सुपर टाइफुन यागी भोलि बिहान हङकङको सबैभन्दा नजिक हुनेछ। यो सहरको दक्षिणपश्चिममा करिब ३ सय किलोमिटरको दूरीमा हुनेछ,’ अद्यावधिक बुलेटिनमा भनिएको छ, ‘यागीसँग सम्बन्धित आँधीले पर्ल नदी मुहानको आसपास क्षेत्रमा बढी असर गर्नेछ। आँधी संकेत चेतावनी नम्बर ८ कम्तीमा भोलि दिउँसोसम्म कायम रहनेछ।’
बितेको एक घण्टामा वाग्लान टापु, चेङचाउ बिच र नोङपिङमा हावाको गति क्रमशः न्युनतम ८१, ७३ र ६७ किलोमिटरदेखि ९१, ९२ र ९९ किलोमिटर प्रतिघण्टा रहेको अब्जर्भेटरीले जनाएको छ। साथै, भोलि भारी वर्षा हुनेछ।
Shares
प्रतिक्रिया