यही जुलाई ६–७, २०१९ का दिन म्यान्मारमा हुन लागेको सातौं एशिया–प्रशान्त क्षेत्रीय बैठकमा गैर–आवासीय नेपाली संघ हङकङले सहभागिता नजनाउने जानकारी दिएको छ।
संघका आईसीसी सदस्यद्वय र संरक्षक परिषद्सहितको संयुक्त बैठकले उक्त सम्मेलन विधान विपरित रहेको सर्बसम्मत ठहर गरी प्रेस विज्ञप्ति मार्फत असहमति सार्वजनिक गरेको छ।
महासचिव किसन राईले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा एशिया प्रशान्त क्षेत्र क्षेत्रीय संयोजक किरण बिक्रम थापालाई सम्बोधन गर्दै भनिएको छ ‘हिजो छैठौं एशिया प्रशान्त क्षेत्रीय बैठकका लागि हामीले दावी प्रस्तुत गरिरहदा तपाईँले नै विधानको प्रावधान व्याख्या गर्नुहुँदै सन् २०१८ भित्रै गर्नु पर्ने बाध्यता देखाउनु भएको थियो। सोही बमोजिम हामीले छोटो समयमा डिसेम्बर ६–७, २०१८ का दिन सफलताका साथ सम्पन्न गरेका थियौं। हामीले तयारीको लागि समय लाग्ने भएकोले सन् २०१९ को फेब्रुअरीतिर गरौं भन्ने प्रस्ताव गरेका थियौं। सोही क्रममा यहाँले ग्लोबल कन्फरेन्स हुने वर्ष क्षेत्रीय बैठक गर्न मिल्दैन त्यस कारण दक्षिण कोरियामा बिजिनेस सम्मेलन गर्ने भन्नु भएको थियो। तर अहिले पुनः क्षेत्रीय बैठक कै सूचना प्राप्त हुँदा आश्चर्य चकित भएका छौं।’
कुनै पनि संस्थाको बैठक वा सम्मेलन हुनु त सुखद कुरा हैन र? भनी नेपालखबरले सोधेको प्रश्नमा महासचिव राईले भने ‘कुनै पनि संस्थाको प्राण भनेकै बिधान हो, संस्था बिधान बिपरित जाँदा त्यसले गलत नजिर मात्र बसाउँदैन, कुनैबेला ठुलो दुर्घटना समेत निम्त्याउन सक्छ।’
लगाम विनाको घोडा गन्तब्यमा पुग्न नसक्ने दाबी गर्दै महासचिव राईले भने, ‘बिधान त लगाम पनि हो, लगामलाई सही तरिकाले प्रयोग गरिएन भने घोडा दौडको गन्तब्यमा पुग्न सक्दैन। बिधानमा स्पस्ट रुपमा हरेक २ वर्षमा गरिने भनिएको छ। हामीले मात्र ६ महिना अगाडी सफलताको साथ छैटौं सम्मेलन सम्पन्न गरेका छौँ। त्यहाँ पारित भएका एजेन्डाहरु पारित भैनसकेको अवस्थामा फेरि अर्को सम्मेलन आयोजना गरिनु हामीलाई मान्य छैन।’
यस्तै, संघका अध्यक्ष टिका (राधिका) गुरुङले पनि सम्मेलन बिधान बिपरित हुन लागेको बताउँदै सम्मेलनप्रती आपत्ती रहेको जनाइन्। ‘सातौं बैठक वा सम्मेलन शिर्षक राखिनु बिधान बिपरित छ’ उनले भनिन्।
सम्मेलनको सट्टा बैठक नामाकरण गरिने भन्ने सुनिएको छ नि? भनी सोधेको प्रश्नमा गुरुङले भनिन ‘त्यसो भए अगाडिको १–६ बैठक चाँहि कहिले र कहा भयो? जतिसुकै कुरो घुमाए पनि त्यो बिधान बिपरित नै हुन जान्छ। हामीले यसको बिरोध गर्दै अनुपस्थित हुने निर्णय गरेका हौँ।’
गैर–आवासीय नेपाली संघ हङकङ यहि जुलाई २८ मा सम्पन्न हुन गैरहेको सातौँ अधिबेशनका लागी चुनावी माहौलमा होमिएको छ।
प्रतिक्रिया