६० वर्ष पुरानो हङकङको यो रेस्टुरेन्ट हुँदैछ बन्द, जहाँ भए धेरै चलचित्रका सुटिङ

६० वर्ष पुरानो हङकङको यो रेस्टुरेन्ट हुँदैछ बन्द, जहाँ भए धेरै चलचित्रका सुटिङ

६० वर्षको इतिहास बोकेको सातिन इन रेस्टुरेन्ट सेप्टेम्बरबाट बन्द हुने भएको छ (एससीएमपी)


नेपालखबर
साउन २४, २०८१ बिहिबार १४:०, हङकङ

हङकङको एउटा ओपन-एयर रेस्टुरेन्ट जहाँ पहिले धेरै स्थानीय चलचित्रका सुटिङ भएका थिए। ६० वर्षको इतिहास बोकेको यो रेस्टुरेन्ट सेप्टेम्बरबाट बन्द हुने भएको छ।

बन्द हुने खबर फैलिएपछि रेस्टुरेन्टको खानाका पारखी ग्राहकहरूको भीड लागेको छ।

बुधबार दिउँसो रेस्टुरेन्ट खोल्नुअघि नै सातिनस्थित सातिन इन रेस्टुरेन्ट बाहिर सयौँ ग्राहकको लाइन लागिसकेको थियो।

पार्किङमा धेरै कार पार्क गरिएका थिए भने खुल्नेबित्तिकै रेस्टुरेन्टका सबै टेबल भरिएका थिए।

यो रेस्टुरेन्ट इन्डोनेसियाली खाना विशेषगरी सटे स्किवर्सका लागि प्रख्यात छ। ताइपो रोडको छेउमा रुखहरूको छहारीमा रहेको यो रेस्टुुरेन्टमा सन् १९६० देखि १९९० सम्म हङकङका धेरै चलचित्रका लागि लोकप्रिय स्थल थियो।

सन् १९८९ को चलचित्र अल अबाउट अ-लङ पनि यही सुटिङ भएको थियो। जसमा ताइवानी अभिनेत्री सिल्भिया चाङको अभिनय छ।

सिल्भिया चाङ र चाउ युन-फ्याट चलचित्र अल अबाउट अ-लङको लागि सातिन इन रेस्टुरेन्टमा खिचिएको दृश्यमा (तस्बिर : गोल्डेन प्रिन्सेस फिल्म प्रोडक्सन लिमिटेड)

यति पुरानो र ऐतिहासिक महत्त्व बोकेको यो रेस्टुरेन्ट सेप्टेम्बरबाट भने स्थायी रूपमै बन्द हुने भएको हो।

बन्द गर्नुपर्नाको कारणमा व्यापार मन्दीलाई यसका सञ्चालकले औँल्याएका छन्।

‘गतवर्ष पनि व्यापार खराब थियो। अझ यो वर्षको चन्द्र नयाँ वर्षको समयमा त झन् व्यापार झनै खस्कियो। जसले हामीलाई रेस्टुरेन्ट बन्द गर्ने सोचमा पुर्‍यायो,’ २० वर्षभन्दा बढी समयदेखि रेस्टुरेन्टको सञ्चालनमा भूमिका निभाएका क्वोक उपनामका एक कर्मचारीले भने।

‘पछिल्ला दिन धेरै मानिस खानाको लागि मुख्यभूमितर्फ लागिरहेका छन्,’ उनी थप्छन्, ‘यसले हाम्रो व्यवसायलाई धेरै असर गरिरहेको छ।’

रेस्टुरेन्ट बन्दको समाचार फैलिएपछि व्यवसाय ‘थोरै पुनजीर्वित’ भएको क्वोक बताउँछन्।

बन्द हुने सुनेपछि रेस्टुरेन्ट पुगेका ग्राहकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।

बुधबार रेस्टुरेन्ट पुगेका ग्राहकमध्ये एक जना मोक उपनामका ६८ वर्षीय व्यक्ति थिए। उनले साथमा १९५७ मा खिचिएको एक तस्बिर पनि ल्याएका थिए। जसमा उनी आफ्नो आमाबाबुका साथ उक्त रेस्टुरेन्टको भवन बाहिर छन्।

१९५७ मा आमाबाबुसँग रेस्टुरेन्टमा खिचिएको तस्बिर देखाउँदै मोक (एससीएमपी)

‘भवन र साइन बोर्ड परिवर्तन भएको रहेनछ। बाहिर खेल मैदान थियो, त्यतिबेला मैदान पक्की भएको थिएन,’ क्यानडाबाट फर्केका उनी वर्षौँपछि रेस्टुरेन्ट पुग्दा विगत सम्झन्छन्।

‘पुरानौ शैली र रुखको छहारीले यो ठाउँलाई अद्वितीय बनाउँछ,’ क्वोक भन्छन्, ‘तपाईँले हङकङमा यस्तो रेस्टुरेन्ट सायदै पाउनुहुनेछ।’

यसको विपरीत चान उपनामका अर्का ग्राहक भने यो ठाउँ ‘जर्जर’ भइसकेको प्रतिक्रिया दिन्छन्।

‘त्यहाँ वातानुकूलित (एसी) जडान छैन, सिलिङ फ्यान मात्र छन्। खानाको छनोट पनि सीमित छ,’ बन्दको खबर सुनेपछि मात्र पहिलो पटक रेस्टुरेन्ट पुगेका ६० वर्षीय भन्छन्।

अर्को २८ वर्षे युवा काउलुन खाडीबाट साथीहरूको साथमा आएका थिए।

‘म यी साथीसँग यो रेस्टुरेन्टमा पहिलो पटक आएँ,’ उनी भन्छन्, ‘मलाई सटे स्किवर्स र फ्राइड चाउचाउ मन पर्‍यो।’ उनी यहाँको शितल वातावरण मन परेको बताउँछन्।

यसै महिनाको सुरुमा अमेरिकन रेस्टुरेन्ट चेन आउटब्याक स्टिकहाउसले हङकङमा रहेका आफ्ना १९ रेस्टुुरेन्टमध्ये ९ बन्द गर्ने र तीन सय बढी कर्मचारी हटाउने घोषणा गरेको थियो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .