हङकङमा ७४ वर्षीय प्याराग्लाइडर बादलमा हराए, १५ वर्षमा भए १९२ दुर्घटना

नेपाली पाइलट कृष्ण राजभण्डारी भन्छन्– उडानका लागि हङकङ सुरक्षित छ, तर उनी प्रतिकूल मौसममा किन उडे?
हङकङमा ७४ वर्षीय प्याराग्लाइडर बादलमा हराए, १५ वर्षमा भए १९२ दुर्घटना

प्रतिकूल मौसमका कारण उडान भर्ने क्रममा सोमबार एक प्याराग्लाइडरको मृत्यु भएको छ


टम सुआई र जेम्स मडेस्टो
असार ८, २०८१ शनिबार ८:२३, हङकङ

हङकङको लान्ताउ टापुमा उड्ने क्रममा बेपत्ता भएका ७४ वर्षीय प्याराग्लाइडर बेहोस अवस्थामा फेला परे।

प्याराग्लाइडिङको वर्षौं अनुभव बटुलेका ती व्यक्तिले सोमबार (१७ जुन) दिउँसो सहरको तेस्रो अग्लो हिमाल पूर्वी सनसेट पिकबाट उडान भरेका थिए।

दिउँसो साढे २ बजे उडान भरेका उनलाई हावाको गतिले बादलतिर धकेलेको र पुइ ओतर्फ गइरहेको साथीहरूले देखेका थिए। तत्काल वाकीटकी तथा फोनबाट उनलाई सम्पर्क गर्न खोजिए पनि सम्भव भएन। उनी बादलमा हराए।

त्यसको आधा घण्टापछि अर्थात् ३ बजे वाकीटकीमार्फत सम्पर्कमा आएका उनले घाइते अवस्थामा रुखमा अड्केको, मोबाइल झोलामा रहेको र झोलासामु आफू पुग्न नसकेको बताएका थिए। त्यसपछि सम्पर्कमा आएनन्।

यति वार्तालापको ६ घण्टापछि भेटिएका उनको बेहोस अवस्थामै मृत्यु भयो। उपचारका लागि नर्थ लान्ताउ अस्पताल लगिएका उनलाई अस्पतालले मंगलबार बिहान मृत घोषित गर्‍यो।

हराएका प्याराग्लाइडरको खोजी गर्ने क्रममा सनसेट पिकमा अग्निनियन्त्रक टोली

प्याराग्लाइडिङको एक दशकभन्दा बढी अनुभव भएका भूतपूर्व गोर्खा कृष्ण राजभण्डारी यो घटनालाई दुर्भाग्यपूर्ण भन्छन्।

‘म उनलाई राम्ररी चिन्दछु,’ राजभण्डारी भन्छन्, ‘उनी अनुभवी हुन्। तर, प्रतिकूल मौसममा किन उडे भन्ने बुझ्न सकेको छैन।’

‘हावामा उड्ने तथा सही अवतरणसम्बन्धी ज्ञान र मौसमप्रति जानकार जस्ता न्यूनतम अभ्यास पालना गर्ने हो भने हङकङ पहिलेदेखि प्याराग्लाइडिङको लागि सुरक्षित स्थान मानिन्छ,’ राजभण्डारी थप्छन्।

कृष्ण राजभण्डारी

उडान भर्नुपहिले सधैँ मौसमप्रति जानकारी रहनुका साथै यसको पूर्वानमानलाई पछ्याउनुपर्ने उनी बताउँछन्। ‘उडानको तयारी गर्दा यो सामान्य प्रक्रिया वा चरण हो,’ राजभण्डारी भन्छन्।

हङकङमा कहिले कस्ता दुर्घटना भए?
अग्नि सेवा विभागका अनुसार सन् २०२२ देखि यस वर्षको मेसम्ममा प्याराग्लाइडिङ उद्धारसहित एक हजार ९३४ पर्वतीय उद्धार कार्य भएको थियो। जसमा एक हजार एक सय ३६ घटनामा ४२ जनाको मृत्यु भएको थियो।

हङकङ चाइना प्याराग्लाइडिङ एसोसिएसन (एचकेपीए)ले गरेको अध्ययनले सन् २००९ यता १९२ वटा दुर्घटनाको रिपोर्ट गरेको छ।

त्यस्तै, हवाई दुर्घटना अनुसन्धान प्राधिकरणले विगत ६ वर्षमा तीन वटा घातक प्याराग्लाइडिङ दुर्घटनाको रिपोर्ट गरेको छ।

लान्ताउ टापुमा प्याराग्लाइडिङ गरिँदै

ती प्याराग्लाइडर जो बचेनन्
२२ जुलाई २०१८ मा एक ४१ वर्षीय प्याराग्लाइडर अन्य चार प्याराग्लाइडर पाइलटसहित दक्षिण लान्ताउ वेस्ट टेक अफ साइटबाट उडान गरेको केही समयपछि बेपत्ता भए।

पाँच दिनपछि उनलाई उडेको स्थानभन्दा एक किलोमिटर पर सनसेट पिकको दक्षिणी स्लोपमा फेला परे। बेहोस अवस्थामा भेटेर अस्पताल लगिएका उनलाई अस्पतालले मृत घोषित गर्‍यो।

तीव्र रूपमा बिग्रँदै गएको मौसमका कारण उनले नियन्त्रण गुमाएको हुन सक्ने अनुसन्धानबाट देखिएको थियो।

२३ डिसेम्बर २०२१ मा ७४ वर्षीय प्याराग्लाइडर जसले नोभिस प्याराग्लाइडिङ रेटिङ पनि प्राप्त गरेका थिए, सेक ओबाट उडान भरेका थिए। उनी झाडीमा ठोकिएर पहाडमा फसे।

सरकारी उडान सेवाले उनलाई अस्पताल पुर्‍याए पनि अस्पतालले मृत घोषित गर्‍यो।

१४ फेब्रुअरी २०२३ मा पाँच घण्टाको उडान अनुभव भएका एक प्याराग्लाइडरले लङ केइ सानबाट उडान भरे। केही छिनमै समुद्रमा अवतरण गरे र डुबे। उनलाई पनि अस्पताल लगेर बचाउने प्रयास सफल हुन सकेन।

के छ उडान प्रावधान?
हङकङमा नागरिक उड्डयन विभाग (सीएडी)ले प्याराग्लाइडिङको सुरक्षा मापदण्ड बनाउनुका साथै यसको इजाजतपत्र नियमन, निरीक्षण तथा अनुगमन गर्दछ।

त्यस्तै, एचकेपीए प्याराग्लाइडिङको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलकुद निकाय हो।

सिएडीका अनुसार हायर वा रिवार्ड सेवा प्रदान गर्न चाहनेहरूले विभागबाट इजाजतपत्र लिनुपर्छ।

हङकङमा हाल पाँच वटा इजाजतपत्र प्राप्त प्याराग्लाइडिङ कोच र संस्था छन् जसले प्याराग्लाइडिङ सेवा तथा भुक्तानीको गतिविधि नियमन गर्दछन्।

एचकेपीएको अध्ययनले रिपोर्ट गरेको सन् २००९ यताका १९२ दुर्घटनामध्ये आठ वटामा विनालाइसेन्सका प्रशिक्षक संलग्न थिए।

सीएडीका अनुसार हङकङमा प्याराग्लाइडिङका लागि लङकि वान, माअन सान, पाकताम आउ, पातसिन लेङ, साइ वान, सेक ओ, दक्षिण लान्ताउ पश्चिम र दक्षिण लान्ताउ पूर्व गरी आठ क्षेत्र स्वीकृत छन्।

सोमबार बेहोस अवस्थामा फेला परेका प्याराग्लाइडर दक्षिण लान्ताउ पूर्वबाट उडेका थिए।

उनलाई अन्तिम पटक टेक-अफ पोइन्टको पूर्व, पुइ ओतर्फ उडेको देखिएको थियो। दक्षिण लान्ताउ पूर्वबाट उडान भर्ने प्याराग्लाइडरको लागि तोकिएको अवतरण क्षेत्र टेक-अफ पोइन्टको दक्षिण, तल्लो चेङसा समुद्री तट हो।

उडानका बखत मौसम बिग्रिएमा तुरुन्तै अवतरण गर्नुपर्ने नागरिक उड्डयन विभागको सुझाव छ

सुझाव
प्याराग्लाइडिङ गतिविधि दिउँसोमा र मौसम राम्रो हुँदा मात्र गर्नुपर्ने सीएडी बताउँछ। सीएडीको निर्देशअनुसार प्याराग्लाइडिङ गर्दा पाइलट बादलबाट टाढा रहनुपर्ने र मुनिको जमिन स्पष्ट देखिने हुनुपर्छ।

त्यस्तै, एचकेपीएको नियमले हावाको बल ५ वा माथि हुँदा उडानमा निषेध गरेको छ। जसमा हावाको गति ३१ किलोमिटर प्रतिघण्टाभन्दा बढी हुन्छ। तसर्थ, उडानअघि मौसम र साइटको अवस्थाबारे मूल्यांकन गर्नु पर्दछ।

हङकङ अब्जर्भेटरीका अनुसार सोमबार दुर्घटनामा परेका प्याराग्लाइडर उड्दा हावाको औसत गति ४ वा २५ किलोमिटर प्रतिघण्टा थियो।

एचकेपीएले हावाको औसत गति २ र ३ वा ७ किलोमिटर प्रतिघण्टादेखि १९ किलोमिटर प्रटिघण्टामा प्याराग्लाइडिङ गर्न सिफारिस गर्दछ।

हङकङका उडान क्षेत्र सबै समुद्रको नजिक भएकोले प्याराग्लाइडरहरूलाई अप्रत्यासित पानीमा अवतरण गर्नुपर्दा आपत्‌कालीन प्रक्रियामा दक्ष हुन नियमनकारी निकायले सल्लाह दिने गर्छन्।

पाइलटहरूले लाइफ ज्याकेट लगाउनेतर्फ पनि ध्यान पुर्‍याउनुपर्ने उनीहरूको सुझाव छ। यसो गर्दा माथि उल्लेखित १४ फेब्रुअरी २०२३ को घटना जस्ता केसमा बच्न सक्ने सम्भावना रहन्छ।

यस्तै, पाइलटहरूले जियोलोकेसन ट्र्याकिङ यन्त्र बोक्न वा प्रहरीको एचकेएसओएस एप प्रयोग गर्न सीएडीले सिफारिस गरेको छ।

एचकेएसओएस एपले आपत्‌कालीन अवस्थामा खोज र उद्धार कार्यमा मद्दत गर्न वास्तविक समय र स्थानको जानकारी दिन सक्छ।

यसैगरी उडानका बखत मौसम बिग्रिएमा तुरुन्तै अवतरण गर्नुपर्ने विभागले सुझाएको छ। (एससीएमपीबाट अनूदित)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .