सुरु भयो हङकङबाट बेइजिङ र सांघाईका लागि उच्च गतिको रात्रि रेल सेवा (भिडिओ)

उद्‌घाटन यात्रामा बेइजिङ पुगेकालाई भव्य स्वागत, यात्रुको मिश्रित प्रतिक्रिया
सुरु भयो हङकङबाट बेइजिङ र सांघाईका लागि उच्च गतिको रात्रि रेल सेवा (भिडिओ)

सुत्ने समेत व्यवस्था भएको हङकङबाट बेइजिङ र सांघाईका लागि उच्च गतिको रात्रि रेल सेवा शनिबारबाट सुरु भएको छ (सबै तस्बिर : एससीएमपी)


नेपालखबर
असार २, २०८१ आइतबार १८:१८, हङकङ

हङकङबाट प्रस्थान गरेको पहिलो द्रुत गतिको ‘स्लिपर ट्रेन’लाई आइतबार बिहान बेइजिङमा स्वागत गरिएको छ।

हङकङबाट प्रस्थान गरेको साढे १२ घण्टापछि ट्रेन आइतबार बिहान ६:५३ मा बेइजिङ पश्चिम रेल स्टेसनमा प्रवेश गरेको हो।

द्रुत रेलबाट बेइजिङ पुगेका यात्रुलाई त्यहाँ सरकारी अधिकारी र रेलवे कम्पनीका अधिकारीले स्वागत गरेका थिए।

उच्च गतिको रेलमार्फत बेइजिङ आइपुगेका यात्रु

स्वागत समारोहमा यात्रुहरूलाई सम्झनास्वरुप म्याग्नेट स्टिकर र टिकट कि-चेन उपहार दिइएको थियो।

‘स्लिपर ट्रेन’मार्फत बेइजिङ पुगेका यात्रुले यात्रा सम्बन्धमा मिश्रित प्रतिक्रिया दिएका छन्।

एकथरिले रेलको स्थिरताले राम्रोसँग सुत्न पाएको बताएका छन् भने अर्काथरिले साँघुुरो ओछ्यानका कारण गहिरो निद्रा नपरेको गुनासो गरे।

त्यस्तै, राम्रोसँग सुत्न पाएको प्रतिक्रिया दिनेहरूले रेलको हल्का आवाजले थप सहजता थपेको बताए भने राम्रो निद्रा नपरेको बताउनेहरूले इयरप्लग लगाए पनि पाइलाको आवाजले बाधा पुर्‍याएको गुनासो गरे।

गुनासो गर्ने यात्रुले आफूले तिरेको टिकटको मूल्य अनुसार अपेक्षाकृत सेवा नपाएको बताएका छन्। ती यात्रु अर्को पटक बेइजिङ यात्रामा आफूले विमान छनोट गर्ने बताएको द स्ट्यान्डर्डमा उल्लेख छ।

हङकङबाट पहिलो पटक बेइजिङ पुगेको द्रुत गतिको ‘स्लिपर ट्रेन’मा हङकङका यातायात तथा आपूर्ति सचिव लाम साइ पनि पुगेका थिए।

उनले द्रुत रेल सेवामार्फत केन्द्र सरकारले हङकङलाई गरेको मायाप्रति कृतज्ञता व्यक्त गरे। साथै, स्वागत समारोहमा बोल्दै उनले मुख्यभूमिका अधिकारीलाई धन्यवाद दिन बेइजिङ आउन पाउँदा खुसी लागेको बताए।

बेइजिङ आइपुगेपछि रेलबाट ओर्लँदै यात्रु

अन्य यात्रु जस्तै रेलमार्फत बेइजिङ पुगेका उनले ब्युँझेपछि स्टेसनमा पुग्न पाउँदा निकै रमाइलो अनुभव सुनाए।

‘ब्युँझेपछि हातमुख धोएर आउँदा अगाडि कफी थियो,’ लामले भनेका छन्, ‘यो सामान्य विमानमा हुन सक्दैन।’

यसले होटलको खर्च समेत बचत गर्ने सक्ने भएकाले यात्रुका लागि थप विकल्प हुने लामले बताए।

यसका साथै, हाल सञ्चालनमा आएका यी मार्ग लोकप्रिय साबित भएमा हङकङले मुख्यभूमिका अन्य सहरमा पनि उच्च गतिका स्लिपर ट्रेन चलाउने सम्भावना खोज्ने यातायात सचिव लामलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

पहिलो चरणको यो अनुभवबाट पाठ सिकेर अन्य योजनामा कार्यान्वयन गरिने सचिव लामको कथन छ।

आइतबार बिहान ६:५३ बजे बेइजिङ पश्चिम रेलवे स्टेसन पुगेको डी९१० रेल अघिल्लो दिन साँझ करिब ६:२४ मा हङकङबाट प्रस्थान गरेको थियो।

यो रेल र सोही दिन हङकङबाट सांघाईका लागि छुटेको अर्को रेलमा गरी करिब एक हजार यात्रु सवार थिए।

चाइना रेलवेले यसअघि नै १५ जुनमा हङकङ, बेइजिङ र सांघाईबीच रातभर चल्ने उच्च गतिको ‘स्लिपर ट्रेन’ को उद्घाटन गर्ने घोषणा गरेको थियो।

अब यी रेल हरेक हप्ता सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन्।

उद्‌घाटन यात्राको भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .