ह्वात्तै घट्यो नेपाल एयरलाइन्सको हङकङ-काठमाडौँ उडान, यो हप्ता छैन कुनै तालिका

ह्वात्तै घट्यो नेपाल एयरलाइन्सको हङकङ-काठमाडौँ उडान, यो हप्ता छैन कुनै तालिका

नेपालखबर
असार २, २०८१ आइतबार ११:२७, हङकङ

नेपाल एयरलाइन्सको हङकङ-काठमाडौँ उडानमा भारी कटौती भएको छ।

हप्तामा तीन दिन उडान गर्दै आएको एयरलाइन्सको यो हप्ता भने हङकङ-काठमाडौँका कुनै पनि उडान हुने छैनन्।

नेपाल एयरलाइन्स हङकङ कार्यालयका कन्ट्री म्यानेजर अरविन्द्र प्रजापतिले यो हप्ता हङकङ-काठमाडौँको कुनै पनि उडान तालिका नरहेको नेपालखबरलाई बताए।

प्रजापतिका अनुसार अबका उडान २५ जुन (मंगलबार) र २९ जुन (शनिबार) हुनेछन्।

यसअघि एयरलाइन्सको नेपाल-हङकङ उडान प्रत्येक हप्ता मंगलबार, बिहीबार र शनिबार हुँदै आएको थियो।

नेपाल-हङकङ नियमित उडान गर्ने यात्रुमाझ उडान अनिश्चितकालीन बन्द भएको भन्ने हल्ला चलेपछि नेपालखबरले गतहप्ता नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलसँग जिज्ञासा राखेको थियो।

प्रवक्ता पौडेलले काठमाडौँ-हङकङको सबै उडान बन्द नभएको र कटौती मात्र भएको जानकारी गराएका थिए।

गतहप्तै नेपालखबरको जिज्ञासामा वायुसेवा निगमका एक पाइलटले हङकङको तुलनामा अन्य गन्तव्यमा यात्रुको चाप बढी भएकाले हङकङमा जुन महिना उडान कम हुने बताएका थिए।
‘जुन महिनाभरिमा सात वटा उडान हुने तालिका छ,’ ती पाइलटको भनाइ छ, ‘यात्रुसँगै जहाज र पाइलटको अभावले उडानमा कमी भएको हो।’

उडानमा कटौती भए पनि एयरलाइन्सले हङकङ-काठमाडौँ उडानमा भने अफर ल्याएको छ।

अगस्टको अन्त्यसम्म लागू हुने यो अफरमा हङकङ-काठमाडौँको टिकट दर ४ हजार हङकङ डलर रहेको छ भने ब्यागेज सुविधा ४० किलो रहेको छ। यो सुविधा हङकङबाट काठमाडौँ जाने यात्रुले मात्र पाउनेछन्। सामान्य अवस्थामा ब्यागेजको सुविधा २५ किलो हो।

साथै, यात्रुले प्रिपेड सुविधा पनि पाउनेछन्। जसअन्तर्गत यात्रुले २५ केजी तौल थप्न सक्नेछन् भने यसलाई प्रतिकेजी ४५ का दरले १,१२५ हङकङ डलर पर्नेछ।

‘यात्रुले पिप्रेड अफर अन्तर्गत १,१२५ हङकङ डलरमा २५ किलो तौल थप्न सक्नेछन्,’ कन्ट्री म्यानेजर प्रजापतिले नेपालखबरसँग भने, ‘लो सिजन प्रोमोसनल फेयर अन्तर्गत यो अफर आएको हो।’

प्रजापतिको यो भनाइअनुसार पनि यात्रुको चाप कम भएकोले उडानमा कटौती भएको बुझ्न सकिन्छ।

प्रिपेड अफरअन्तर्गत तौल थप गर्दा २५ किलोभन्दा तल भने थप्न नपाइने प्रजापतिले बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .