आफूलाई दुबईको शासक परिवारको आफन्त भएको बताउने एक लगानीकर्ताले एसियाली वित्तीय केन्द्र (एसियन फाइनान्सियल हब)मा लगानी बढाउने वाचा गरेको केही दिनपछि नै हङकङमा पारिवारिक कार्यालय खोल्ने योजनालाई अचानक पछाडि सारेका छन्।
उनले हङकङमा ५० करोड अमेरिकी डलर लगानीको प्रतिज्ञासहित नयाँ पारिवारिक कार्यालय स्थापना गर्ने बताएका थिए।
हङकङ मिडल इस्ट बिजनेस चेम्बरको विज्ञप्तिमा उल्लेख भएअनुसार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमसँग पारिवारिक सम्बन्ध रहेको बताउने शेख अलि अल मकतुमले हङकङमा बिहीबारका लागि तय गरिएको आफ्नो पारिवारिक कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम स्थगित गरेका हुन्।
विज्ञप्तिका अनुसार दुबईमा ‘अत्यावश्यक मामिला’ सम्हाल्नुपरेकोले उद्घाटनको नयाँ मिति पछि घोषणा गरिने भन्दै बुधबार उनले ह्वाट्सएप सन्देश पठाएका हुन्।
पछिल्लो समय हङकङले अति धनीहरूको पारिवारिक कार्यालय सहरमा खोल्नको लागि प्रोत्साहन गर्ने रणनीति अपनाएको छ। जसमा कर लाभ लगायतका अफर छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार शेख अलि सहरको फाइनान्सियल मेगा इभेन्ट विकका उच्च प्रोफाइल पाहुनाको समूहमा थिए र हङकङका प्रमुख कार्यकारी जोन लीसँग पनि भेटेका थिए।
अल मकतुमको महत्वाकांक्षी लगानी योजनाले मुख्यभूमि चिनियाँ उद्यमहरूको पनि ध्यान खिचेको थियो। फलस्वरुप धेरैले उनको पृष्ठभूमि केलाउने प्रयास गरेका थिए।
गत मंगलबार उनी उपस्थित विश्वविद्यालयको एक कार्यक्रममा समेत उनलाई पत्रकारले ‘यूएईका प्रधानमन्त्रीसँग तपाईंको नाता के हो?’ भन्ने प्रश्न गरेका थिए। जवाफमा उनले ‘आफू परिवारको सदस्य भएको र प्रम आफ्नो प्रेरणाको स्रोत भएको’ दाबी गरे।
गत हप्ता ब्लुमबर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा समेत शेख अलिले एसियाली वित्तीय केन्द्रमा ५० करोड अमेरिकी डलरको पारिवारिक कार्यालय बनाउने योजना बताएका थिए।
आर्टिफिसियल इन्डेलिजेन्स, विद्युतीय सवारी साधन तथा फिनटेक लगायतमा उक्त लगानी गर्ने उनको योजनामा समेटिएको थियो।
डिसेम्बरमा सहरको भ्रमण गरेपछि पारिवारिक कार्यालय स्थापना गर्ने निर्णयमा पुगेको उनले अन्तर्वार्तामा बताएका थिए।
गत बुधबार पनि शेख हङकङ सरकारले आयोजना गरेको सहरको सबैभन्दा ठूलो पारिवारिक कार्यालय कार्यक्रम वेल्थ फर गुड समिटमा सामेल भएका थिए।
उनी सोमबार हङकङका सरकारी अधिकारी र अन्तर्राष्ट्रिय कम्पनीका कार्यकारीहरूसँग वन अर्थ शिखर सम्मेलनमा पनि सहभागी थिए।
तर, बिहीबार उद्घाटन गरिने भनिएको ‘पारिवारिक कार्यालय’ अचानक किन स्थगित भयो भन्नेबारेमा भने आम चासो बढेको छ। एजेन्सी
Shares
प्रतिक्रिया