अस्ट्रेलियाको सिड्नीबाट हङकङ फर्कंदै गरेको क्याथे प्यासिफिकको उडानमा दिइएको खानामा किरा फेला परेको एक यात्रुले गुनासो गरेका छन्।
सोमबार (२५ मार्च) फेसबुकमा पोस्ट गर्दै परिवारका चार सदस्यसहित १६ मार्चमा बिजनेस क्लासको उडान CX138 बाट हङकङ फर्कंदा उक्त समस्या भोग्नुपरेको पीडितले बताएका छन्।
‘परिवारका एक सदस्यले खानाको आनन्द लिइरहेका थिए, जब उनले अचानक सलादमा मरेको किरा देखे उनलाई वाकवाकी लाग्नुका साथै पेट पनि दुख्न थाल्यो,’ लेउङ उपनाम गरेका ती व्यक्तिले लेखेका छन्, ‘त्यसपछिका दुई दिन उनले खाना खानै सकेनन्।’
लेउङले यो पनि उल्लेख गरेका छन् कि घटनापछि उडान सेवा प्रबन्धकले परिवारलाई ४८ घण्टाभित्र क्षतिपूर्ति दिने बताएका थिए तर सोमबारसम्म एयरलाइन्सबाट कुनै प्रतिक्रिया आएको छैन।
यता, घटना मिडियामार्फत बाहिरिएपछि क्याथे प्यासिफिकले पीडितसँग माफी मागेको छ भने एयरलाइन्सका कर्मचारी लेउङ कहाँ पुग्ने व्यवस्था गरिसकिएको बताएको छ। साथै, घटनाबारे अनुसन्धान भइरहेको पनि क्याथेले जनाएको छ।
यद्यपि, लेउङको पोस्टबारे आम मानिसबाट भने विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले उक्त तस्बिर बिजनेस क्लासको क्याबिनमा खिचिएको जस्तो नदेखिएको भनेका छन् भने कतिले इन्फ्लाइट खानाको लागि प्रयोग गरिने प्लेटभन्दा फरक भएको बताएका छन्। द स्ट्यान्डर्ड
Shares
प्रतिक्रिया