अस्ट्रेलिया सरकारले हङकङको यात्रा गर्ने आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ।
शुक्रबार जारी गरिएको एडभाइजरीमा मार्च २३ बाट हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू हुन लागेको भन्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।
यात्रुले नियतविना नै कानुन तोड्न सक्ने र नयाँ सुरक्षा कानुन कडा भएकोले समस्या पर्न सक्ने खतरा रहेको एडभाइजरीमा भनिएको छ।
नयाँ कानुनअनुसार कुनै पनि व्यक्तिलाई विनाचार्ज १६ दिनसम्म हिरासतमा राख्न सकिने र ४८ घण्टासम्म वकिलको पहुँचलाई अस्वीकार गर्न सकिने समेत अस्ट्रेलियाले सम्झाएको छ।
अझ यो कानुन हङकङ बाहिर हुने गतिविधि (जस्तै, सामाजिक सञ्जालमा गरिएका पोस्ट)मा पनि लागू गर्न सकिने एडभाइजरीमा उल्लेख छ।
‘तपाईंले नियतविना नै कानुन तोड्न सक्नुहुन्छ र हिरासतको जोखिम बढ्छ,’ एडभाइजरीमा भनिएको छ, ‘हङकङमा यी कानुनअन्तर्गत अधिकतम सजाय आजीवन कारावास हो। अस्ट्रेलिया सरकारले हङकङको न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न सक्दैन।’ द स्ट्यान्डर्ड
Shares
प्रतिक्रिया