हङकङको पोकओइ हस्पिटलले पाठेघरमा कुनै समस्या नै नभएकी महिलाको शल्यक्रिया गरी पाठेघर निकालिदिएको छ।
अस्पतालले शुक्रबार जानकारी गराएअनुसार उक्त महिला र अर्की क्यान्सर पुष्टि भएकी महिलाको बायोप्सी नमूना मिसिन पुग्दा यस्तो गम्भीर गल्ती हुन पुगेको हो।
अस्पतालका अनुसार पीडित महिला र अर्की क्यान्सर रोगी महिलाको नमूना संकलन गर्दा जम्मा आधा घण्टाको फरक रहेको थियो, जुन असावधानीवस मिसिन पुग्यो।
यस सम्बन्धमा अस्पतालले माफी पनि मागिसकेको छ भने विस्तृत कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने जनाएको छ।
खासमा ती महिलाको फेब्रुअरी २६ मा शल्यक्रिया भएको थियो। यसपछि नियमित प्रक्रियाका क्रममा गरिएका परीक्षणमा क्यान्सरका कोषिकाहरू नदेखिएपछि सीसीटीभी फुटेजबाट जाँच गर्दा अर्कै बिरामीको रिपोर्ट मिसिएको निष्कर्षमा अस्पताल पुगेको हो। बिहीबार यो निष्कर्षमा पुगेको अस्पतालले शुक्रबार सार्वजनिक रूपमा माफी माग्दै अवगत गराएको हो।
महिलाको अवस्थालाई एक मेडिकल टोलीले फलोअप गर्ने अस्पतालले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार गलत रिपोर्टका आधारमा अस्पतालले महिलाको पाठेघर, अन्डाशय र ओभिडक्ट निकालिदिएको छ।
Shares
प्रतिक्रिया