गैरआवासीय नेपाली संघ (एनआरएनएनए)का पूर्वअध्यक्ष डा. शेष घले विश्व गैर–आवासीय नेपाली संघ (जीएनआरएनए) हङकङको प्रथम अधिवेशनका लागि हङकङ आउँदैछन्।
जीएनआरएनए हङकङले यही मार्च १० मा प्रथम अधिवेशन गर्दैछ।
चिमसा चोइ इस्टस्थित रेगल काउलुन होटलमा हुने अधिवेशनमा सहभागी भएपछि डा. घले मकाउ जानेछन्।
त्यहाँ उनी जीएनआरएनए मकाउले ११ मार्चका लागि राखेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।
मकाउको द प्लाजा रेस्टुरेन्टमा जीएनआरएनए मकाउले सोमबार (११ मार्च) बिहान ११ बजे डा. घलेको स्वागत र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा डा. घलेले जीएनआरएनए गठनको आवश्यकता, औचित्य र नेपालमा हुन गइरहेको केन्द्रीय अधिवेशनका बारेमा आफ्ना धारणा प्रस्तुत गर्ने जीएनआरएनए मकाउका अध्यक्ष सन्तोष गुरुङले बताए।
कार्यक्रममा डा. घलेले संस्थाको उद्देश्य, सांगठनिक परिकल्पना र विगतका कमीकमजोरीका बारेमा प्रस्ट्याउनेछन्।
कार्यक्रममा जीएनआरएनए मकाउको स्थापनाका अप्ठ्यारा र चुनौतीबारे डा. घलेलाई अवगत गराउने कार्यक्रम रहेको अध्यक्ष गुरुङ बताउँछन्।
जीएनआरएनएको हालसम्म २२ वटा देशमा राष्ट्रिय समन्वय परिषद् गठन भइसकेका छन्।
रोजगारीका क्रममा मकाउ आइपुगेका नेपालीले कमाएको अनुभव, ज्ञान, सीप र पुँजीलाई स्वदेशमै लगानी गर्ने वातावरण निर्माण गर्नको लागि संस्थाले अपनाउने नीतिगत व्यवस्थाका बारेमा पनि कार्यक्रममा सम्बोधन हुने मकाउका अध्यक्ष गुरुङले बताए।
यसैगरी नेपालमा हुने विकास निर्माणका कामसँगसँगै राष्ट्रिय विपद्का बेला प्रवासमा रहेका नेपालीले पुर्याउने दीर्घकालीन तथा अल्पकालीन सहयोगका सम्बन्धमा पनि कार्यक्रममा प्रकाश पारिनेछ।
मकाउको कार्यक्रमपछि डा. घले १६-१७ मार्चमा हुने केन्द्रीय अधिवेशनका लागि नेपाल जानेछन्। संस्थाले काठमाडौँको हायत रिजेन्सीमा अधिवेशन गर्दैछ।
अधिवेशनमार्फत ‘समावेशी, प्रगतिशील र गैरराजनीतिक संस्था’ को ‘भिजन’सहित एनआरएनएलाई ‘रिब्रान्डिङ’ गरिने ग्लोबल एनआरएन फाउन्डेसनले जनाएको छ।
Shares
प्रतिक्रिया