ओराज माइराले कार्य प्रारम्भ गरेको १० वर्षपछि उडान परिचरको रूपमा विश्व भ्रमण गर्न छोडिन् र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड रोल लिइन् ताकि उनले आफ्ना साना दुई सन्तानको राम्रोसँग हेरचाह गर्न सकून्।
यतिले पनि उनलाई पुगेन। रातिको सिफ्टले उनलाई सोचेजस्तो परिणाम दिएन। अनि उनले जागिर परिवर्तन गरिन् र एक एयरलाइन्समा सहायक स्टेसन प्रबन्धकको रूपमा काम गर्न थालिन्। अहिले उनलाई ‘आमा’ र ‘जागिरे’ दुवै भूमिकामा रहन सहज भएको छ।
‘म यस उद्योगमा रहन चाहन्छु किनकि म मेरो अनुभव र बहुभाषी कौशललाई खेर फाल्न चाहन्नँ,’ रुसी, क्यान्टोनिज र अंग्रेजी भाषामा पोख्त ४० वर्षीया माइरा भन्छिन्।
कजाकिस्तानकी माइरा सन् २०१० देखि हङकङमा बस्दै आएकी छन्।
एयरपोर्ट प्राधिकरणले सबै कर्मचारीलाई प्रदान गर्ने अनुदानित बाल हेरचाह कार्यक्रमले उनलाई धेरै मद्दत गरेको छ।
प्राधिकरणले गरेको यो व्यवस्थाअनुसार कर्मचारीले आफ्ना छोराछोरीलाई तुङचुङका तीन तोकिएका विद्यालयमा पठाउन सक्छन्। जहाँ उनीहरूले प्रतिबच्चा प्रतिदिन हङकङ डलर १० तिरेर स्कूलपछि हेरचाह सुविधा पाउनुका साथै ट्युसन पढाउन पाउँछन्।
माइराको जेठो छोरा, जो आठ वर्षका छन्, उनलाई माइराले बाल हेरचाह केन्द्रको ट्युसनमा राखेकी छन्। यसको फाइदा उनले घरमा उनको गृहकार्य जाँच गर्नु पर्दैन।
‘घरको काममा ध्यान दिन नपर्ने हो भने म राति बच्चाहरूसँग गुणस्तरीय समय बिताउन सक्छु,’ माइरा भन्छिन्। उनका श्रीमान् भने कामको सिलसिलामा प्रायः बाहिरै रहन्छन्।
गत अक्टोबरमा हङकङका प्रमुख कार्यकारी जोन लीको नीति सम्बोधनमा महिलाहरूलाई रोजगारीमा टिकाइराख्न तथा पुनः सामेल गराउन र सहरमा कर्मचारीको कमीलाई पूर्ति गर्न विभिन्न योजना प्रस्तुत भएका थिए। गैरसरकारी संस्थामा कार्यरत व्यक्ति, सांसद तथा माइरा जस्ता महिला यसो हुनको लागि बाल हेरचाह जस्ता कार्यक्रम धेरै सहयोगी रहेको बताउँछन्।
‘आमाहरूले आफ्नो बच्चाको हेरचाह गर्ने वा आफ्नो करिअरको पछि लाग्ने भन्नेमध्ये एक छनोट गर्न संघर्ष गर्नुपरेको छ,’ गत वर्ष पहिलो पटक आमा बनेकी सांसद निक्सी लाम भन्छिन्, ‘महिलालाई समाजमा पुनः एकीकरण गर्न र करिअर विकास गर्न बाल हेरचाह एउटा महत्त्वपूर्ण स्थान हो।’
उनी कार्यस्थलहरू थप परिवारमैत्री हुन आवश्यक रहेको बताउँछिन्। डे केयर सेन्टरमार्फत बाल हेरचाह सेवा प्रदान गर्नको लागि कोष छुट्याउन उनी रोजगारदाता कम्पनीहरूलाई सुझाव दिन्छिन्।
प्राधिकरणका सार्वजनिक मामिला तथा सामुदायिक सम्बन्धका सहायक महाप्रबन्धक सिउ काम–हाङले यस वर्ष विमानस्थलका कर्मचारीका एक सयभन्दा बढी बालबालिकालाई बाल हेरचाह उपलब्ध गराउन तीन वटा गैरसरकारी संस्थासँग सहकार्य गरेको बताए।
‘हामी अन्य कम्पनीले पनि यसबाट पाठ सिकून् भन्ने आशा गर्छौं,’ उनी भन्छन्, ‘वास्तवमा परिवारअनुकूल उपायबाट कर्मचारीहरू लाभान्वित हुन्छन्।’
यता, हङकङ काउन्सिल अफ सोसल सर्भिसका नीति अनुसन्धान तथा वकालत प्रमुख पिस वोङको अनुभवमा भने बाल हेरचाह प्याकेजबाट सहरका प्रायः कर्मचारी लाभान्वित छैनन्।
केही रोजगारदाताहरू साना बच्चा भएका महिला कर्मचारीलाई काममा लचिलोपन प्रदान गर्न वा कामको समय घटाउन तयार देखिए पनि धेरैमा यो नीति नदेखिएको उनी बताउँछन्।
त्यस्तै, एजुकेसन युनिभर्सिटीका शिक्षा तथा मानव विकास संकायका सहायक प्राध्यापक डा. हेनरी हो साना तथा मझौला उद्योगले परिवारमैत्री नीति अवलम्बन गर्न स्रोत अभावको सामना गर्नुपरेको बताउँछन्।
साना बच्चा भएका महिला कर्मचारीलाई वार्षिक बिदाको संख्या बढाउन तथा उनीहरूले बच्चालाई दिने समय बढाउनको लागि कामको समय घटाउँदा कम्पनीलाई पर्ने थप आर्थिक भारले कम्पनी प्रभावित हुने गरेको उनी बताउँछन्। यसर्थ सरकारले साना तथा मझौला उद्योगलाई अनुदान दिन उनी सुझाउँछन्।
सहायक प्रोफेसर होको टोलीले गत वर्ष परिवारमैत्री रोजगार अभ्यासबारे सर्वेक्षण गरेको थियो। जसमा रोजगारदाता र कर्मचारीको अपेक्षाबीच ठूलो अन्तर भेटियो।
सर्वेक्षणअनुसार ७० प्रतिशतभन्दा बढी काम गर्ने आमाहरू विशेष बिदा, हप्तामा पाँच दिन मात्र काम र काममा लचिलोपना चाहन्छन्। त्यस्तै, ६० प्रतिशत आमाबाबु विशिष्ट नीतिको अपेक्षा राख्छन्- जस्तै, स्तनपान कक्षको व्यवस्था, बच्चा बिरामी भएको बखत हेरचाह गर्नका लागि बिदा, आदि।
तर, यसको विपरीत केही रोजगारदाताले बाल हेरचाह वा वृद्ध तथा अपाङ्गता भएका आफन्तको सहयोगका लागि कर्मचारीलाई सहयोग उपलब्ध गराउनु आफूहरूको जिम्मेवारी होइन भनी सोचे। (एससीएमपीबाट अनूदित)
Shares
प्रतिक्रिया