यतिखेर हङकङमा चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को रौनक छाइरहेको छ। नयाँ वर्षको बेला यहाँ तीन दिन सार्वजनिक बिदा हुने गर्दछ।
नयाँ वर्षको अवसरमा यहाँ विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।
सन् २०१९ मा कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएपछि यस्ता कार्यक्रम प्रभावित बनेका थिए। पछिल्लो समय भने परिस्थिति विस्तारै सहज बन्दै गइरहेको छ।
यसै सिलसिलामा हिजो राति ८ बजे भिक्टोरिया हार्बरमा उल्लासमय आतिशबाजी भयो। २३ मिनेटको शोका लागि बन्दरगाहको दुवै छेउबाट गरी साढे तीन लाख ३८ हजार मानिसले कार्यक्रम हेरेको हङकङ प्रहरीले बताएको छ।
नयाँ वर्षमा चिनियाँहरू स्थानीय सांस्कृतिक कार्यक्रममा खुलेर रमेका हुन्छन्।
यस्तै जस्तो, हङकङमा रहेका नेपालीलाई पनि आफ्नै मौलिकता र संस्कृतिमार्फत मनोरञ्जन दिने उद्देश्यले यहाँ रहेका नेपाली संघसंस्थाले विभिन्न खाले कार्यक्रम आयोजना गर्ने गरेका छन्।
यसै सिलसिलामा हङकङका गुरुङ समुदायले स्थापना गरेको तमु ट्हो ह्युल हङकङले आज (१२ फेब्रुअरी) रोधी साँझ पस्किँदैछ।
युनलङ थिएटरको अडिटोरियममा हुने रोधी साँझमा प्रस्तुति दिनका लागि नेपालबाट २२ कलाकार हङकङ आइपुगेका छन्।
गुरुङ (तमु) हरूको भाषा, संस्कृति, परम्परा, भेषभूषा, धर्म, संस्कार, रीतिथिति, कला र मौलिकतालाई संरक्षण एवं संवर्धनका लागि आपसी सहयोग, सद्भाव र भाइचाराको उद्देश्य राखेर सन् १९९८ मा स्थापना भएको संस्थाले आयोजना गर्न लागेको यो नवौँ रोधी साँझ हो।
सन् १९९८ मा स्थापना भएको संस्थाले २००० देखि प्रत्येक कार्यसमितिको पालामा एउटा कार्यक्रम आयोजना गर्ने गरेको छ।
‘स्थापनाकालदेखि संस्थाले हरेक कार्यसमितिको पालामा एउटा कार्यक्रम गर्ने गरेको छ,’ संस्थाका अध्यक्ष विजयकुमार गुरुङले नेपालखबरसँग भने, ‘कोभिडका कारण अघिल्लो कार्यकालमा चाहिँ कार्यक्रम हुन सकेन। अहिले संस्थाको दशौैँ कार्यसमिति हो भने रोधि साँझ चाहिँ नवौँ हो।’
कार्यक्रमले नयाँ वर्षको उत्सवमा नेपाली समुदायले आफ्नै मौलिकतामा रमाउन पाउन् भन्ने उद्देश्य राखेको छ।
कार्यक्रममा विशेषतः गुरुङ संस्कृतिसँगसँग सम्बन्धित घाटु नाच, सोरठी, कौरा नाच, कृष्ण चरित्र लगायतका प्रस्तुति रहनेछन्।
कार्यक्रम हेर्नका लागि ७/८ सय दर्शकको उपस्थिति रहने अनुमान गरिएको अध्यक्ष गुरुङ बताउँछन्।
कार्यक्रममा ‘हिमाली सांस्कृतिक परिवार’का सदस्यले प्रस्तुति दिनेछन्।
हङकङस्थित नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एनआरएनए हङकङ, हङकङ नेपाली महासंघ, नेपाल चेम्बर अफ कमर्श हङकङ, नेपाल आदिवासी जनजाति महासंघ हङकङ लगायत संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।
कार्यक्रम साँझ ७:१५ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया