नेपाली ट्र्याक एन्ड फिल्डका ओलम्पियन धावक हरि रिमालले हङकङमा सम्पन्न ‘चाइना कोस्ट म्याराथन’अन्तर्गत हाफ म्याराथनको उपाधि उचालेका छन्।
आइतबार हङकङको साइकुनस्थित पाकताम चुङ पार्कबाट सुरु भएको २१ किलोमिटरको निर्धारित दुरी १ घण्टा १९ मिनेट ५५ सेकेन्डमा पार गरी उनी प्रथम भएका हुन्।
त्यसैगरी बेलायतका क्रिस डेभिस र फ्रान्सका अलन जागुरे क्रमश: दोस्रो र तेस्रो बने। यो प्रतियोगिता जित्ने हरि पहिलो नेपाली हुन्।
‘पहिलो पटक हङकङको भूमिमा प्रतियोगिता जित्दाको अनुभव कस्तो रह्यो?’ भनी नेपालखबरले सोधेको प्रश्नमा हरिले भने, ‘खुसी लागेको छ। नेपालमा मेरो कीर्तिमान १ घण्टा ५ मिनटको थियो। यो कोर्स उकालो ओरालोले समय अलि बढी लाग्यो। तर, दौडको क्रममा देखिने प्राकृतिक दृश्य ज्यादै नै मनमोहक थियो। यसले गर्दा पनि म बढी रोमान्चित बनेँ।’
हरि नेपाली सेनाका धावक हुन्।
उक्त प्रतियोगितामा हजारौँको सहभागिता रहेको थियो। प्रतियोगिता सन् १९८१ बाट आयोजना हुँदै आएको छ।
उनी २१ जनवरीमा भएको स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनमा समेत सहभागी बनेका थिए।
Shares
प्रतिक्रिया