हङकङका अधिकारीहरुले करिब ३३० वटा सार्वजनिक भाडाको फ्ल्याट जफत गरेका छन्। सरकारी हाउजिङको दुरुपयोग रोक्न भन्दै यस्तो कदम चालिएको हो।
सो क्रममा आफ्नो सम्पत्ति घोषणा नगर्ने ४० भाडावाललाई कारबाही पनि गरिएको छ।
पहिलो चरणमा गत अक्टोबर र नोभेम्बरमा ८८ हजार भाडावाललाई उनीहरुको स्वामित्वमा कुनै आवासीय सम्पत्ति छ कि छैन भनेर घोषणा गर्न लगाइएको थियो। सो क्रममा ती फ्ल्याट जफत गरिएको हाउजिङ अथोरिटीले जनाएको छ।
‘नयाँ मापदण्डअनुसार ३३० फ्ल्याट हामीलाई फिर्ता गरिएको छ वा हामीले जफत गरेका छौँ,’ हाउजिङ अथोरिटीकी निर्देशक रोजाना लले भनिन्।
भाडावालले निजी घर किनेको र बसाइँ सरेको कारण पनि फ्ल्याट फिर्ता गरिएको उनको भनाइ छ।
सरकारले ३० हजार फ्ल्याटको निरीक्षण पनि गरेको थियो। सो क्रममा ४० जनाले सरकारलाई जनकारी नदिई आवासीय भवन राखेको पत्ता लागेको थियो।
हत्या गरिएकी मोडल एबी चोइका पूर्वससुरा क्वङ काउ सार्वजनिक फ्ल्याटमा बस्ने भए पनि उनको स्वामित्वको आलिसान घर रहेको पत्ता लागेपछि गत वर्षबाट सरकारले यसबारे नियममा कडाइ गरेको थियो। एससीएमपी
Shares
प्रतिक्रिया