जहाजको क्याबिनमा ‘असामान्य गन्ध’ आएपछि मलेसियाको पेनाङका लागि उडेको क्याथे प्यासिफिकको विमान हङकङ नै फर्किएको छ।
उडान CX 633 आइतबार बिहान ८:१५ बजे हङकङबाट प्रस्थान गरी १२.०५ मा पेनाङ पुग्ने तालिका थियो।
तर, उडानले जमिन छोडेपश्चात् क्याबिनमा असामान्य गन्ध आएपछि पुनः हङकङ नै फर्किएको हो।
‘उडानको टेकअफपछि क्याबिनमा असामान्य गन्ध आएको रिपोर्ट प्राप्त भयो,’ कम्पनीलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘त्यसपछि उडान मापदण्डअनुसार सावधानीपूर्वक हङकङ नै फिर्ता भयो।’
एयरबस A330 विमान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८.५३ मा फर्किएको थियो।
घटनामा यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ।
यात्रुलाई हङकङ समय साढे १२ बजे अर्को विमानमार्फत गन्तव्यमा पठाउने व्यवस्था मिलाइनुका साथै त्यतिन्जेलसम्म एयरपोर्टको लाउन्जमा बस्ने व्यवस्था र खानाका लागि कुपन बाँडिएको एयरलाइन्सले जनाएको छ।
समस्याग्रस्त विमानको छिट्टै निरीक्षण गरिने क्याथेले बताएको छ।
यसअघि पनि अक्टोबरमा दुईपटक गन्तव्य नपुगी क्याथेको विमान हङकङ नै फर्किएको थियो।
पहिलो घटनामा स्पेनको म्याड्रिडका लागि उडेको विमानमा प्रणालीगत समस्या देखिएपछि हङकङ फिर्ता बोलाइएको थियो।
त्यस्तै, सोही महिनाको अर्को घटनामा २९० जना भन्दा बढी यात्रु लिएर जापान उड्दै गरेको विमानको कार्गो ढोका अनलक भेटिएपछि हङकङ फर्किएको थियो।
Shares
प्रतिक्रिया