हङकङ आज निकै चिसो रह्यो। अब्जर्भेटरीका अनुसार आजको मापनले यो हिउँदैकै रेकर्ड ब्रेक गरेको छ।
आज बिहानसहरी क्षेत्रको तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो भने उच्च स्थान ताइमो सानमा तापक्रम माइनसमा पुगेको थियो।
ताइमो सानको बिहानको तापक्रम माइनस २.४ डिग्री सेल्सियस पुगेको थियो।
यो समाचार तयार पार्दासम्म (करिब आठ बजे)को सहरी क्षेत्रको तापक्रम ८.३ डिग्री सेल्सियस रहेको अब्जर्भेटरीको वेबसाइटमा उल्लेख छ।
ताइमो सानमा चिसोसँगै बरफ जमेपछि पदयात्रीले वर्षकै पहिलो बरफ संरचनासँग रमाएका देखिए।
पदयात्रामा निस्कनेहरू हिउँसँग रमाउन उत्सुक पाइए।
द स्ट्यान्डर्डमा उल्लेख भएअनुसार हरेक दिन ताइमो सानमा मर्निङ वाकका लागि निस्कने चिउ उपनामका व्यक्ति आज हिउँ बनेको छ कि छैन भनेर हेर्न निकै उत्सुक बने। उनी वर्षकै पहिलो बरफसँग खेल्न आतुर थिए।
तीन तहको कपडा लगाए पनि डाँडामा पुग्दा आफूलाई निकै चिसो लागेको तर मन भने न्यानो रहेको उनको प्रतिक्रिया थियो।
त्यस्तै अर्का पदयात्री, वोङ उपनामकी महिलाले यात्रा सुरु गर्दा पानी परिरहेको थियो।
बिहान सवा ६ बजे कन्ट्री पार्कबाट हिँडेकी उनले पनि निकै चिसो महसुस गरिन्। यद्यपि आफूले पर्याप्त कपडा लगाएकोले आनन्द महसुस भएको उनले बताइन्।
हप्तामा एक वा दुई पटक ताइमो सान उक्लने बानी भएकी उनी आज आधा बाटोमै पुग्दा बिरुवामाथि जमेको सेतो तह देखेर आनन्द महसुस गरिन्।
यद्यपि, सुरक्षाका कारण दर्शाउँदै सरकारले पहाडमा नजान सर्वसाधारणलाई अनुरोध गरेको थियो। पछि, त्यहाँ जाने बाटो समेत बन्द गरियो।
Shares
प्रतिक्रिया