चर्चित नेपाली महिला ट्रेल रनर सुनमाया बुढा पर्वतारोहण तथा आउटडोर सम्बन्धी सामग्री उत्पादन गर्ने प्रसिद्ध ब्रान्ड ‘कैलास’ कम्पनीमा अनुबन्ध भएकी छन्।
सुनमाया सो चिनियाँ कम्पनीको ‘कैलास मार्की फिमेल ग्लोबल एथलेट टिम’ मा अनुबन्ध भएकी हुन्। उक्त कम्पनी र सुनमायाबीच सोमबार हङकङमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पश्चात कैलासका एक प्रतिनिधिले भने, ‘सुनमायालाई कैलास फुगा ट्रेल टोलीमा सामेल भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। उनी ब्रान्डमा सामेल हुने शीर्ष वरियताकी महिलामध्ये एक हुन्। अब उनी एशिया र युरोपमा आयोजित हुने ठूला दौडहरूमा सामेल हुनेछिन्, जुन दौड यही वर्षको मार्च महिनाको अन्त्यमा चीनबाट सुरु हुनेछ।’
एशिया प्यासेफिक एड्भेन्चर एथलेटका निर्देशक र सुनमायाका प्रतिनिधि रायन एस ब्लेयरले भनेका छन, ‘यो एकदमै खुशीको क्षण हो। यो सुनमायाको जीवन नै कायापलट गर्ने सुवर्ण अवसर हो। कैलास जस्तो प्रसिद्ध ब्रान्डबाट सुनमायालाई बलियो समर्थन र सहयोग पाउनु महत्त्वपूर्ण छ।’
कैलासका प्रतिनिधिले यसमा झन् खुशी व्यक्त गरेका छन्।
कैलासका लागि अन्तर्राष्ट्रिय मार्किङ प्रमुख साम झोङले भनेका छन्, ‘हामी सुनमाया जस्ता प्रतिभाशाली धाविकालाई प्रायोजित गर्न र उनीसँग काम गर्न पाउँदा साँच्चै खुसी छौं। र, कैलासको सहयोगले तिनको ट्रेल रनिङ करियरलाई थप उचाईमा पुर्याउन मद्दत गर्ने कुरामा हामी विश्वस्त छौँ।’
यस अवसरमा नेपालखबर हङकङले सोमबार सुनमायालाई दुई वटा प्रश्न गरेको थियो— दुई वर्षअगाडि ‘द नर्थ फेस एड्भेन्चर टिम’मा अनुबन्ध, फेरि अहिले ‘कैलास’ जस्तो ठूलो कम्पनीसँग अनुबन्ध हुन पाउँदा कस्तो लागिरहेको छ? के हङकङले फापेकै हो?
सुनमायाले भनिन्, ‘यो मेरो जीवनको महत्वपूर्ण दिन र ठूलो छलाङ हो। कैलास जस्तो कम्पनीबाट यसरी अवसर पाउँदा आज म धेरै उत्साहित र खुसी छु। यति ठूलो अवसरको लागि म रायन ब्लेयर, कैलास र एपीएलाई धन्यवाद दिन चाहन्छु।’
सुनमायाले केही समय अगाडिदेखि कैलासको उत्पादन परीक्षण गरिरहेकी थिइन्। उक्त ब्रान्डको ट्रेल जुत्ता, पोशाक, झोला र रेसबाट प्रभावित भएको उनले बताइन्।
सुनमायाले थपिन ‘मलाई यो अवसरले मेरो खेल क्षमतालाई अझै उचाईमा पुर्याउँदै नेपालको शानसमेत बढाउने अवसर मिलेको छ। म यो अवसरलाई भरपुर सदुपयोग गर्नेछु। साँच्चै भन्नू पर्दा हङकङ मेरो लागि दोस्रो घर भएको छ। यो ठाउँ मेरो लक्की चार्म हो। मलाई यहाँसम्म ल्याईपुर्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगी भूमिका खेल्ने सबैप्रति आभारी छु।’
२५ वर्ष अगाडि बिकट जिल्ला जुम्लामा जन्मिएकी सुनमायालाई दुई वर्ष अगाडि हङकङस्थित नर्थ फेस एड्भेन्चर टिमले अनुबन्ध गरेको थियो। पर्वतारोहण र आउटडोर एड्भेन्चरका लागि सम्पूर्ण सामग्रीहरू उत्पादन गर्ने चिनियाँ कम्पनी कैलासमा अनुबन्ध हुने सुनमाया पहिलो नेपाली हुन्।
सुनमायाले हङकङमा मात्रै दर्जनौं ट्रेल प्रतियोगिताहरू जितिसकेकी छन्। उनी एशियाकै शीर्ष बरियताकी ट्रेल रनर हुन्।
Shares
प्रतिक्रिया