३४ वर्षीया अनु थापा (परिवर्तित नाम) हङकङमा बस्छिन्, जो नेपाली हुन्। उनको ९ वर्षीय छोरामा अटिजमको समस्या छ।
छोरालाई अटिजमको समस्या देखा परेपछि थापा दम्पतीले निकै हन्डर खायो, हैरानी बेहोर्यो।
तर हिजोआज थापा दम्पती यो समस्याबाट मुक्त छ।
हङकङको जोर्डनस्थित याउचि मोङमा खुलेको कृति बाल केन्द्रले उनीहरूको दुःखमा केही मल्हम लगाइदिएको छ भने छोराले पनि पढ्न पाएका छन्, क्षमता विकास गर्न सकेका छन्।
त्यस्तै, गौरी लिम्बू (परिवर्तित नाम) को पनि हङकङमा बसोबास छ। ३२ वर्षीया यी नेपाली आमाले पनि दुई वर्षअघि आफ्नो छोरालाई अटिजम भएको थाहा पाइन्। जतिखेर उनको छोरा मात्र तीन वर्षका थिए।
यसभन्दा पहिले ‘अटिजम’बारे कहिल्यै नसुनेकी उनले छोराको अस्वाभाविक क्रियाकलापका बारेमा समुदायका मानिसबाट अनेकथरी कुरा सुनिन्।
कसैले ‘ढिला बोल्ने भयो, कसैमा यस्तै हुन्छ’ भने कसैले केही भने।
जब उनले अटिजमको बारेमा थाहा पाइन् अनि छोरालाई कृति बाल केन्द्रमा भर्ना गरिन्।
छोरालाई अटिजम भएकोबारे थाहा पाएपछि समुदायमा बताउँदा आफूलाई पनि विभिन्न टिकाटिप्पणी हुने गरेको अनुको पनि अनुभव छ।
कतिपयले ‘गर्भावस्थामा हुँदा नराम्रो काम गरेको वा नराम्रो कुरा खाएको’ टिप्पणी गरेको अनु बताउँछिन्।
कृति बाल केन्द्र नेपाली महिलासहितको टोलीले खोलेको परोपकारी संस्था हो।
दिव्या गुरुङ, करिश्मा राईसहितको मेहनतले स्थापना भएको संस्थाले हाल १० वर्षभन्दा मुनिका ४० बालबालिकालाई सेवा दिइरहेको छ।
केन्द्रका परियोजना अधिकृत अश्मी घोन्डे (बायाँ छेउ) र संस्थापकद्वय करिश्मा राई (बीच), दिव्या गुरुङ। तस्बिर : ह्यान्डआउट/एससीएमपी
संस्थाले अटिजम भएका बालबालिकालाई उनीहरूको सञ्चार क्षमताका साथै सामाजिक अन्तरघुलनको विकासमा सघाउ पुग्नेगरी सेवा प्रदान गर्ने गरेको छ। साथै, बालबालिकालाई औपचारिक शिक्षासँग जोड्ने कोसिस गर्दछ।
कृति बाल केन्द्र जातीय अल्पसंख्यक समुदायका बालबालिकाको लागि समावेशी प्रारम्भिक बाल्यकाल शिक्षा सिकाउने थलो हो।
संस्थाले आफ्नो फेसबुक पेजमा राखेको जानकारी अनुसार केन्द्रले सन् २०२२ को डिसेम्बरमा परोपकारी संस्थाको मान्यता प्राप्त गरेको हो।
संस्थाको स्थापना भएदेखि अहिलेसम्म केन्द्रले नेपाली समुदायका लगभग २५० परिवारलाई सेवा प्रदान गरेको संस्थाको दाबी छ।
कृति बाल केन्द्रले विभिन्न प्रकारका कक्षामा १ देखि १० वर्ष उमेर समूहका ४० बालबालिकालाई सेवा प्रदान गरिरहेको छ।
केन्द्रले बालबालिकाको सञ्चार, भाषा सीप, सामाजिक सीप र उनीहरूको शैक्षिक आवश्यकतासँग सान्दर्भिक सिकाइका अन्य क्षेत्रको विकास गर्ने लक्ष्यलाई केन्द्रबिन्दुमा रहेर सेवा प्रदान गरेको संस्थाले बताएको छ।
प्रारम्भिक बालविकासको बारेमा सचेतना जगाउने, जातीय अल्पसंख्यक समुदायमा एसईएन (स्पेसल एजुकेसन निड/विशेष शैक्षिक आवश्यकता) प्रतिको भेदभाव र नकरात्मक दृष्टिकोणलाई चिर्ने केन्द्रको उद्देश्य संस्थाले लिएको छ।
‘एसईएन’ले सिकाइ कठिनाइ वा असक्षमतालाई जनाउँछ। समान उमेरका अन्य बालबालिकाभन्दा सिक्न गाह्रो हुने बालबालिका यो वर्गमा पर्छन्। यस्ता बालबालिकालाई उनीहरूको उमेरका अन्य बालबालिकालाई दिइएको भन्दा थप वा फरक मद्दत दिनुपर्ने हुन्छ।
हङकङमा, गम्भीर वा धेरै अपाङ्गता भएका विद्यार्थीलाई विशेष विद्यालयमा पठाइन्छ, जबकि अन्य एसईएन विद्यार्थी गैर-विशेषज्ञ विद्यालयमा जाने गरेका छन्।
स्थानीय सञ्चारमाध्यम एससीएमपीमा उल्लेख भएअनुसार शैक्षिक वर्षमा २०२२/२३ मा लगभग ६० हजार ९६० विशेष आवश्यकता भएका विद्यार्थी सरकारी अनुदान प्राप्त प्राथमिक र माध्यमिक विद्यालयमा भर्ना भएका थिए।
‘यस परोपकारी संस्थाको अनुभवमा समुदायमा प्रारम्भिक बाल विकास र एसईएनको बुझाइमा कमी देखिन्छ। सामाजिक भेदभावका कारण अभिभावकलाई सहयोग खोज्न र माग्न समस्या भएको देखिन्छ,’ केन्द्रले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘हाम्रो परोपकारी संस्थाले समुदायमा असक्षमताको बारेमा सामाजिक रूढिवादीको सामना गर्दै सबै बालबालिकाका लागि समावेशी सिकाइ वातावरण निर्माण गर्ने प्रयास गरिरहेको छ।’
(साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित लेखको सम्पादित रूप)
Shares
प्रतिक्रिया