मंगलबार दिउँसो हङकङको साउमाउ पिङमा दुई बस एकापसमा ठोकिँदा १४ जना घाइते भएका छन्।
मंगलबार अपरान्ह ४ बजेतिर लामतिन सर्भिस सेन्टरबाट साउमिङ रोडतर्फ जाँदै गरेको रेहाबस रुट नं. ९५ को केएमबीको बससँग ठोकिएको हो।
द काउलुन मोटर बस कम्पनी (केएमबी)को डबल डेकर बसको पछाडिको भागमा रेहाबस ठोकिन पुगेको थियो।
घटनामा रेहाबसमा सवार ११ जना बिरामी, एक नर्स तथा केएमबीका एक यात्रु र चालक सहित कम्तीमा १४ जना घाइते भएका छन्।
सामान्य घाइते उनीहरूलाई उपचारका लागि युनाइटेड क्रिश्चियन अस्पताल र चुङक्वान ओ अस्पताल पठाइएको छ। अस्पताल लैजानुअघि उनीहरूलाई घटनास्थलमै प्राथमिक उपचार गरिएको थियो।
स्थानीय सञ्चार माध्यमले जनाएअनुसार रेहाबसमा सवार यात्रु फरक क्षमताका व्यक्ति हुन्।
रेहाबस हङकङ सोसाइटी फर रिह्याबिलिटेसनद्वारा सञ्चालित प्याराट्रान्जिट सेवा हो। यो सेवा हङकङमा सन् १९७८ देखि सुरु भएको हो।
सेवाले नियमित सार्वजनिक यातायातबाट सेवा लिन नसक्ने हङकङका फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक यातायात सेवा प्रदान गर्दछ।
रेहाबसमा यात्रारत व्यक्तिहरू नर्सको निर्देशनमा घर फर्कने क्रममा थिए। यसै क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया