अल्ट्रा ट्रेल रनर रसिला तामाङ आज (बुधबार) इन्डोनेसिया प्रस्थान गरेकी छन्। उनी आगामी डिसेम्बर २ तारिख इन्डोनेसियाको सेन्ट्रल जाभामा हुन लागेको एसियाकै प्रसिद्ध अल्ट्रा रन ‘एसिया ट्रेल मास्टर च्याम्पियनसिप फाइनल’ मा भाग लिन त्यता लागेकी हुन्।
रसिलालाई विश्वका एलिट अल्ट्रा रनर पूर्ण तामाङ र तीर्थ तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। पूर्ण रसिलाको प्रशिक्षक समेत हुन्।
रसिला प्रमुख उपाधि मानिएको ८० किलोमिटरतर्फ प्रतिस्पर्धा गर्नेछिन्। यसलाई टी ८ कम्पनीले प्रायोजन गरेको हो जसलाई हङकङका ट्रेल रनर दिनानाथ बगालेले समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आएका छन्।
रसिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने क्रममा पूर्ण तामाङ र तीर्थ तामाङ
‘प्रतियोगितामा एक से एक प्रतिस्पर्धी छन्। दौडको तयारी कस्तो छ र नतिजा कस्तो आउला?’ नेपालखबरको प्रश्नमा रसिलाले भनिन्, ‘यो प्रतियोगिता निकै टफ छ। यो प्रतियोगिता भाग लिन यो भन्दा अगाडि कम्तीमा दुई वटा एसियन सिरिजमा भाग लिई राम्रो प्रदर्शन गरेको हुनु पर्छ। मैले यो भन्दा अगाडि मलेसियामा सम्पन्न दुई रेसमा पहिलो र दोस्रो भएको छु। तयारी पनि राम्रै छ।’
रसिला थप्छिन्, ‘इन्जुरी फ्रि छु, त्यसैले निकै आशावादी छु। तर, उक्त ठाउँमा ३२ डिग्रीसम्मको गर्मी रहेछ, यसको थोरै डर लागेको छ। बीचमा घाइते नबने राम्रै नलिजा आउला। फिनिसिङ लाइन नचुमेसम्म यसै भन्न सकिन्नँ।’
प्रशिक्षक पूर्ण तामाङसँग रसिला
प्रशिक्षक पूर्णले पनि रसिलाबाट निकै आशा गरेको नेपालखबरलाई बताए। उनी भन्छन्, ‘रसिला निकै नै अनुशासित छन्, मेहनती छन् र लामो दौडमा चाहिने सहनसिलता एवं धैर्यता प्रशस्त छ।’
रसिलामा ‘क्यान डु एटिच्युड छ, अल्ट्रामा चाहिने नै यही हो। त्यसैले टप थ्रीमा आउने मेरो पूर्ण विश्वास छ,’ पूर्ण आशावादी देखिन्छन्।
धादिङको धुनिबेसी निवासी रसिलाले सन् २०१७ बाट दौड सुरु गरेकी हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी देढ दर्जनभन्दा बढी प्रतियोगितामा भाग लिइसकेकी छन्।
Shares
प्रतिक्रिया