हङकङमा अवैध आप्रवासीको प्रवेश बढ्दो, सोमबार समातिए थप चार जना

हङकङमा अवैध आप्रवासीको प्रवेश बढ्दो, सोमबार समातिए थप चार जना

प्रहरीले सोमबार चाङछाङ क्षेत्रबाट थप चार जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ (द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १५:२६, हङकङ

पछिल्लो समयमा हङकङमा अवैध आप्रवासीको प्रवेश बढ्दै गएको देखिएको छ।

प्रहरीले ठूलो समूहमा मानिसलाई पक्राउ गर्नुले पनि यसलाई पुष्टि गरेको छ।

हङकङ प्रहरीले विशेष अपरेसन चलाएरै अवैध आप्रवासीको प्रवेशलाई रोक्न खोजिरहेको छ।

गत महिनाको अन्तिम दश दिनमा मात्रै सय जनाभन्दा बढी समातिए।

फेरि आज (सोमबार) थप चार जना पक्राउ परेको प्रहरीले जनाएको छ।

ठूलो संख्यामा अवैध आप्रवास भित्रिन थालेपछि सरकारले मुख्यभूमि चीनका समकक्षीसँग रोकथामका लागि मदत मागिसकेको छ।

दक्षिण एसियाली देशबाट चीनको यात्रालाई सहज बनाइएसँगै हङकङमा अवैध प्रवेश गर्न खोज्नेको संख्यामा वृद्धि भएको हुनसक्ने अनुमान छ।

अक्टोबरको अन्तिममा समातिएको ठूलो समूहमा बंगलादेशी, भारतीय र पाकिस्तानी छन्। उक्त दश दिनमा बंगलादेश, भारत र पाकिस्तानका एक सय तीन जना समातिएका थिए।

सोमबार पक्राउ परेका चार जनामा पनि तीन जना भारतीय छन्। चौथो व्यक्ति भने भियतनामी हुन्।

प्रहरीले जानकारी गराएअनुसार सोमबार बिहान करिब ९ बजे लान्ताउ टापुको ताइओ फिसिङ भिलेजका मानिसले सहरमा केही व्यक्ति अवैध रूपमा प्रवेश गरेको शंकामा प्रहरीलाई खबर गरेका थिए।

खबर पाएसँगै अपरेसनमा खटिएको प्रहरीको टोलीले त्यसको डेढ घण्टापछि चाङछाङ रोडस्थित सेकमुन काप क्षेत्रनजिकै एउटा ट्याक्सीलाई नियन्त्रणमा लिएको थियो।

जसमा तीन भारतीय र एक भियतनामी यात्रु रहेको प्रहरीले बताएको छ।

२२ देखि २९ वर्ष उमेर समूहका उनीहरूलाई अवैध प्रवेश गरेको आशंकामा पक्राउ गरिएको हो।

यस सम्बन्धमा लान्ताउ टापुको अपराध अनुसन्धान इकाइले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .