हङकङका सरकारविरोधी एक प्रदर्शनकारीलाई ४ वर्ष जेल

हङकङका सरकारविरोधी एक प्रदर्शनकारीलाई ४ वर्ष जेल

सन् २०१९ को आन्दोलनका क्रममा प्रदर्शनकारी।


नेपालखबर
भदौ २५, २०८० सोमबार १८:५९, हङकङ

सन् २०१९ को आन्दोलनसँग सम्बन्धित एक प्रदर्शनकारीलाई हङकङको अदालतले चार वर्ष जेल सजाय सुनाएको छ।

सरकारविरोधी प्रदर्शनका क्रममा दंगा भड्काएको आरोप लागेका २४ वर्षीय फङ चिङ-वाह एक प्राविधिक विद्यालयका पूर्व विद्यार्थी हुन्।

सन् २०१९ मा चुनवानमा भएको विरोध प्रदर्शनमा अन्य प्रदर्शनकारीसहित फङ पनि पक्राउ परेका थिए।

त्यतिवेला कालो पहिरन लगाएका करिब दुई सय प्रदर्शनकारीले प्रहरीलाई पेट्रोल बम, इँटा तथा सिसाका बोतलहरूले प्रहार गरेका थिए।

त्यस्तै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ज्वलनशील पदार्थमा आगो लगाएका थिए।

दंगाको आरोपमा पक्राउ परेका फङ जमानतमा रिहा भएका थिए। उनलाई हप्तामा दुई पटक चुनवान पुलिस स्टेसनमा हाजिर हुन भनिएको थियो।

तर, अन्तिम पटक ३ सेप्टेम्बर २०२० को सुनुवाइमा सहभागी भएका उनी ३१ अक्टोबरदेखि बेपत्ता भएका थिए।

अदालतले फेब्रुअरी २०२१ मा फङको गिरफ्तारीका लागि वारेन्ट जारी गरेको थियो।

फरार भएका उनले अमेरिकी वाणिज्यदूतावासको सहयोग खोजेका थिए तर दूतावासले अस्वीकार गरेपछि उनी अप्ठेरोमा परेका थिए। त्यसपछि ताइवान भाग्न खोजेका उनी फेरि प्रहरीको फन्दामा परे।

अदालतमा सुनुवाइका क्रममा फङका वकिलले उनी विशिष्ट राजनीतिक लक्ष्यका साथ आन्दोलनमा सामेल भएको र उनको व्यक्तिगत कार्यले अरूलाई चोटपटक वा आर्थिक क्षति नपुगेको भनेर उनको बचाउ गरेका थिए।

तर, प्रदर्शनकारीहरूको कार्यले प्रहरी तथा कानुनी शासनलाई चुनौती दिने प्रयास गरेको, जमानतमा छुटेका उनी फरार भएको जस्ता कुरालाई असल नियत मान्न नसकिने भन्दै अदालतले उनलाई जेल सजाय तोकेको छ।

यस्तै, फङ गिरफ्तार पर्दा अन्य प्रदर्शनकारीले जस्तै पोशाक लगाएकोले उनको सहभागिता आकस्मिक नभई योजनाबद्ध भएको पुष्टि हुने पनि अदालतले व्याख्या गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .