प्रविधिको विकासले मानिसलाई जति सजिलो हुँदै गएको छ, त्यति नै चुनौती पनि थपिँदै गएका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले त झन् दैनन्दिन कार्य छिटो र सजिलो हुँदै गइरहेको छ।
तर, यो सजिलोसगै चुनौती पनि त्यत्तिकै थपिँदै गएका छन्। पछिल्लो पटक त्यस्तै एउटा चुनौतीको सामना हङकङ प्रहरीले गरेको छ। त्यो हो– एआई प्रविधि डीपफेकको दुरुपयोग।
पछिल्लो समय हङकङ प्रहरीले डीपफेकको प्रयोग गरी ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो।
उनीहरूले यसको माध्यमबाट मानिसको तस्बिर नक्कल गरी बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिने गरेका थिए।
हङकङको साइबर सेक्युरिटी एन्ड टेक्नोलोजी क्राइम ब्युरोका सुपरिटेन्डेन्ट डिकेन को टिकले शुक्रबार बताए अनुसार डीपफेक प्रविधि प्रयोग गरी वित्तीय संस्थाहरूमा ठगी गरेको पत्ता लागेको यो पहिलो पटक हो।
उनीहरूले डीपफेक प्रविधिको माध्यमबाट मानिसको तस्बिर बनाई बैंक तथा वित्तीय संस्थाहरूमा ऋणका लागि आवेदन दिने गरेको पाइएको हो।
‘गिरोहले वित्तीय संस्थाहरूमा अनलाइन ऋणका लागि आवेदन दिन एआई फेस–चेन्जिङ प्रोगामको प्रयोग गर्यो। यसलाई सामान्यतया डीपफेक प्रविधि भनिन्छ,’ टिकले भने।
प्रहरीका अनुसार गिरोहले चोरीका आठवटा परिचय पत्रका साथ आम्दानी र ठेगानाको नक्कली कागजात बनाएर ऋणका लागि अनलाइन आवेदन दिएको थियो।
अनलाइन आवेदन दिँदा सबै कागजात स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ। यसरी अपलोड गरिएका कागजातमा वित्तीय संस्थाहरूले आवेदकको तस्बिर तत्कालीन समयको खोज्ने हुँदा यस कार्यका लागि गिरोहले चोरिएका कार्डको दुरुपयोग गरी एआई–जेनेरेडेड तस्बिरको प्रयोग गरेका हुन्।
वित्तीय संस्थाले यसरी आएका आवेदनमा ‘फेसियल रिकग्निसिन’ प्रणालीबाट आवेदकको पहिचान गर्ने गर्दछन्।
गिरोहले डीपफेक प्रविधिको प्रयोग गरी कम्तीमा २० वटा अनलाइन कर्जा आवेदन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जसमा हङकङ डलर ७० हजारको माग राखी चार वटा निवेदन परेका थिए। यसमध्ये एउटा स्वीकृत भइसकेको छ।
त्यस्तै, हङकङ डलर १ लाख ३० हजारको छुट्टाछुट्टै तीन वटा आवेदन पनि स्वीकृत भइसकेका छन्।
प्रहरीका अनुसार गिरोहले चोरिएका उक्त कार्डहरूबाट ३० भन्दा बढी प्रिपेड सिमकार्ड निकालेका थिए।
यसबाट उनीहरूले सात हजार दुई सय सन्देश पनि पठाएका छन्। यी सन्देशबाट ‘सपिङ रिवार्ड पोइन्ट’ को झुटो प्रस्ताव पठाई मानिसहरूबाट क्रेडिट कार्डको जानकारी लिने ध्येय उनीहरूको देखिन्छ।
ठगीको आरोपमा पक्राउ परेकाहरू ३१ देखि ५० वर्ष उमेर समूहका छन्। उनीहरूसँग प्रहरीले चोरीका परिचयपत्र, १३ नक्कली परिचय पत्र, १९ वटा मोबाइल, ९ वटा कम्प्युटर, केही नक्कली कागजात तथा नक्कली परिचयपत्र बनाउन प्रयोग हुने उपकरणहरू बरामद गरेको छ।
हङकङमा एआई डीपफेक प्रविधिको प्रयोग गरी ठगी गरेको यो पहिलो पटक हो।
Shares
प्रतिक्रिया