हङकङ अब्जर्भेटरीले आगामी बुधबार यस वर्षको दोस्रो टाइफुन आउन सक्ने जनाएको छ।
ग्वाङजोङ प्रान्तको पूर्वी तटमा आएको आँधी बुधबार टाइफुनमा परिणत भई हङकङलाई प्रभावित बनाउन सक्ने बताइएको हो।
अब्जर्भेटरीले सोमबार बताए अनुसार अहिले १५ सय किलोमिटरको दूरीमा रहेको डोक्सुरी वित्तीय हबको ८ सय किलोमिटरभित्र आएमा टाइफुन अलर्ट जारी हुनेछ।
अब्जर्भेटरीका कार्यवाहक वरिष्ठ वैज्ञानिक डेभिड लाम होक–यिनका अनुसार टाइफुन डोक्सुरी ताइवानको दक्षिणी भाग वा ग्वाङजोङ प्रान्तको पूर्वी तटमा जान सक्छ।
लामका अनुसार यदि टाइफुन दक्षिणी ताइवानतिर सरेमा हङकङले तातो मौसमको सामना गर्नेछ भने पूर्वी ग्वाङजोङतर्फ सरेमा भारी वर्षा र तीव्र हावा चल्नेछ।
डोक्सुरीसँग जोडिएको अस्थिर मौसमका बारण हप्ताको उत्तरार्द्धमा दक्षिणपूर्वी चीनको तटलाई असर गर्ने अब्जर्भेटरीको अनुमान छ।
अब्जर्भेटरीका वैज्ञानिक लामका अनुसार यस वर्षको गर्मी मौसममा हङकङमा चारदेखि सात वटा टाइफुन आउन सक्छन्।
यस वर्षको पहिलो टाइफुन गत सोमबार आएको थियो। ‘टाइफुन तालिम’ नामकरण गरिएको यस टाइफुनले उक्त दिन हङकङका अधिकांश क्षेत्रलाई ठप्प पारेको थियो।
टाइफुनका कारण धेरै हवाइ उडान रद्द भएका थिए भने कतिपय ‘डिले’ भएका थिए। बस, रेललगायतका यातायात सेवा पनि प्रभावित बनेका थिए।
तीव्र हावा र भारी वर्षाका कारण विद्यालयहरू बन्द भए, कामदारहरू काममा जान सकेनन्।
‘तालिम’ले शेयर बजारलाई पनि प्रभावित पारेको थियो। टी ८ चेतावनी संकेत झण्डै १६ घण्टासम्म कायम थियो।
Shares
प्रतिक्रिया