हङकङको भन्सार विभागले क्यानडाबाट आयात गरिएका एयर कम्प्रेसरहरूमा ठूलो परिमाणमा लुकाएर ल्याइएको मेथाम्फेटामाइन (क्रिस्टल मेथ) बरामद गरेको छ।
यसको मूल्य हङकङ डलर ८४ मिलियन तथा अमेरिकी डलरमा १०.७ मिलियनभन्दा बढी पर्ने बताइन्छ।
अधिकारीहरूले आइतबार बताए अनुसार गत मंगलबार क्यानडाबाट आएका मेसिनहरू चेकजाँच गर्ने क्रममा ८२ केजी क्रिस्टल मेथ फेला परेको हो।
यस क्रममा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ३३ देखि ५६ वर्षका तीन पुरुष छन्। उनीहरू एउटै कम्पनीका मालिक, सुपरभाइजर र चालक रहेको बताइएको छ।
यसैगरी, भन्सार विभागले गत विहीबार क्वाइ चुङको एउटा गोदाममा पनि छापा मारेको थियो। जहाँबाट २६ मिलियन हङकङ डलर बराबरको ३७ केजी ड्रग बरामद भएको थियो।
खतरनाक आगू औषध तस्करीको अभियोगमा अधिकतम पाँच मिलियन हङकङ डलर जरिवाना र आजीवन कारावास सजाय हुने कानुनी प्रावधान छ।
विमानस्थल तथा गोदामबाट बरामद गरिएका मेथाम्फेटामाइन।
भन्सार विभागका अनुसार, गत वर्ष (सन् २०२२) को जनवरीदेखि मेको बीचमा कोकिन, क्रिस्टल मेथ, हेरोइन, केटामाइन तथा भाङजस्ता मुख्य लागू औषध २ हजार २२७ केजी बरामद भएको थियो।
यस वर्ष सोही अवधिमा ३ हजार ७१२ केजी बरामद भएको छ।
गत वर्षको पाँच महिनामा मुख्य बरामद भएका लागू औषधमा क्रिस्टल मेथ, कोकिन र केटामाइन हुन् भने यस वर्षको मे महिनामा मुख्यगरी कोकिन, क्रिस्टल मेथ र भाङ रहेका छन्।
त्यस्तै, यसअघि जुन महिनामा हङकङ प्रहरीले ङाङ ताउ कक र क्वुन तङस्थित लागू औषध भण्डारण केन्द्रहरूमा छापा मारी १२३ मिलियन हङकङ डलर बराबरको क्रिस्टल मेथ बरामद गरेको थियो।
उक्त क्रिस्टल सडकमा चियाका लागि प्रयोग गरिएका बोराहरूमा लुकाइएको थियो।
त्यतिबेला प्रहरी फोर्सले २० र ३० वर्षका दुई पुरुषलाई पक्राउ गरेको थियो।
यो सँगै हङकङमा लागू औषध तस्करको गतिविधि बढ्दै गएको देखिन्छ।
Shares
प्रतिक्रिया