सन् १९९० को दशकमा एसियामा पप गीतको रौनक ल्याउने हङकङ मुलकी अमेरिकी सुपरस्टार कोको लीको आत्महत्याका कारण मृत्यु भयो। लीले गएको आइतबार (२ जुलाई) आत्महत्या प्रयास गरेकी थिइन्।
त्यसपछि अस्पताल भर्ना गरिएको थियो। कोमामा रहेकी उनको ४८ वर्षको उमेरमा बुधबार (५ जुलाई) हङकङस्थित क्विन मेरी अस्पतालमा मृत्यु भयो।
चीनको मनोरञ्जन जगतमा आइकनको रूपमा रहेकी उनी लामो समययता डिप्रेसनमा थिइन्। परिवारले वर्षौँदेखि उनी डिप्रेसनमा रहेको पुष्टि गरेको छ।
सधैँ रमाएर स्टेजमा प्रस्तुत हुने लीले एकाएक आत्महत्या गरेपछि कला जगतमा ठूलो सन्नाटा छायो। लीलका स्तब्ध फ्यानहरूले उक्त घटनापछि डिप्रेसनविरुद्ध 'ह्याप्पी हङकङ' अभियान चलाएका छन्।
लीलाई श्रद्धाञ्जली दिँदै धेरैले राज्यले मानसिक स्वास्थ्यका विषयलाई गम्भीर रूपमा लिनुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म डिप्रेसनविरुद्ध 'ह्याप्पी हङकङ' अभियान चलेको छ। सीसीटीभी, पिपुल्स डेली र चाइना डेलीजस्ता चिनियाँ सञ्चारमाध्यमले डिप्रेसन र मानसिक स्वास्थ्यबारे जनचेतना जगाउन ‘डिप्रेसन तपाईंको नजिक छ’, ‘डिप्रेसनका संकेतहरु’ लेखिएका ह्यासट्यागहरु चलाइरहेका छन्। मानसिक स्वास्थ्यमा काम गरिरहेका विभिन्न संस्थाले पनि यस्तो अभियान सञ्चालन गरिरहेका छन्।
तर हङकङको डिप्रेसनको दरलाई सम्बोधन गर्न 'ह्याप्पी हङकङ' अभियान मात्रै प्रर्याप्त नभएको विज्ञहरूले बताएका छन्। उनीहरुले राज्यबाटै यसविरुद्ध अभियान चाल्नुपर्ने बताएका छन्।
'सरकारले हङकङको समग्र वातावरणलाई कसरी राम्रो बनाउन सक्छर?' युनिभर्सिटी अफ हङकङको सेन्टर फर सुसाइड रिसर्च एण्ड प्रिभेन्सनका निर्देशक प्रोफेसर पल यिप सिउ फाईलाई शुक्रबार सोधिएको थियो। जवाफमा उनले भने, 'द ह्याप्पी हङकङ अभियाने पक्कै पनि केही राम्रो गरेको छ। तर यो स्थायी उपाय होइन। दीर्घकालीन रूपमा, सरकारले हङकङ ह्याप्पी क्याम्पियनलाई कसरी साँच्चचिकै त्यस स्थानमा पुर्याउने भनेर ध्यान दिनुपर्दछ।' उनले पहिले आधारभूत आवश्यकताहरू परिपूर्ति गर्न आवश्यक रहेको बताए।
कोभिड–१९ महामारीका कारण दैनिक जनजीवन प्रभावित भएको तीन वर्षपछि बासिन्दाको मनोबल बढाउन सरकारले अप्रिलमा यो अभियान सुरु गरेको थियो। ह्याप्पी हङकङ अभियानमार्फत् १० वटा योजना पूरा गरेको दावी सरकारको थियो। तर यिप यसमा सहमत छैनन्।
उनले भने, ‘यदि १० वटा काम पूरा गरेपछि पनि यति धेरै समस्या छन् भने यसको अर्थ रणनीतिले जनताको चासोलाई सम्बोधन गरेको छैन।'
गएको बुधबार नै हङकङ उच्च अदालतले डिप्रेसनमाथि महत्वपूर्ण फैसला गरेको छ। अदालतले १६ दिने छोरीको हत्या गर्ने डिप्रेसनमा रहेकी आमालाई तोकिएको २ वर्षको जेल सजाय खारेज गर्दै प्रोबेसनमा पठाउन आदेश दिएको छ।
४२ वर्षीय ती महिलाले पोस्ट-पार्टम डिप्रेसनका कारण हत्या गरेको पत्ता लागेकाले परीक्षण अवधिका लागि बुधबार अदालतले प्रोबेसनमा पठाउने फैसला गरेको थियो।
गएको दुई दशकमा हङकङको अर्थतन्त्र द्रूत गतिमा बढेको छ। तर डिप्रेसन पनि त्यही हिसाबले बढेको तथ्यांकले देखाउँछ। अर्थतन्त्र बढेसँगै मानिसहरूमा कमाइका लागि पनि त्यसै हिसाबले दबाब बढेको छ, जसले डिप्रेसन दर बढाएको छ।
Shares
प्रतिक्रिया