हङकङमा अरुणा गुरुङ करिब एक लाख डलर बराबरको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ जित्न सफल भएकी छन्।
हङकङको जातीय अल्पसंख्यक समुदाय र विभिन्न क्षेत्रमा गुरुङले गरेका सकारात्मक योगदानहरूको मूल्याङ्कन गर्दै दि हङकङ फेडरेसन अफ कमर्स फर स्मल एण्ड मिडियम इन्टरप्राइजेजले उनलाई यो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो।
इन्टरप्राइजेजको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ आयोजक समितिले दश लाख हङकङ डलर बराबरको यो अवार्ड विभिन्न क्षेत्रका ११ जनालाई प्रदान गर्ने निर्णय गरेको छ, जसमा नेपाली समुदायबाट अरुणा गुरुङलाई छनोट गरिएको हो।
आयोजक समितिले गुरुङलाई छनोट गरिएको जानकारी दिँदै आगामी नोभेम्बरमा अवार्ड प्रदान गरिने समारोहमा आमन्त्रण गरेको छ। यस अन्तर्गत गुरुङले करिब एक लाख डलर बराबरको उपहार र ट्रफी पाउने छिन्।
‘जातीय उपलब्धि अवार्ड २०२३ को आयोजक समितिको तर्फबाट, १८ मे २०२३ मा कजवे बेको रिगल होटलमा भएको निर्णायक अन्तर्वार्तामा उपस्थित हुन समय दिनु भएकोमा हामी तपाईंलाई धेरै धेरै धन्यवाद दिन्छौं’, आयोजक समितिले अरुणा गुरुङलाई पठाएको पत्रमा भनेको छ, ‘बधाई छ! तपाईंलाई एथ्निक अचिभमेन्ट अवार्ड २०२३ को विजेता मध्ये एकको रूपमा सफलतापूर्वक चयन गरिएको छ!’
समितिले अन्तर्वार्ता छनोटदेखि सम्पूर्ण प्रक्रिया खुला, निष्पक्ष र वस्तुनिष्ठ रूपमा सम्पन्न भएको जनाएको छ।
३२ वर्षसम्म हङकङको क्याथे प्यासिफिक एयरलाइन्समा काम गरेपछि उनले ‘इन्फ्लाइट सर्भिस म्यानेजर’ पदबाट गत वर्ष अवकाश लिएकी थिइन्।
यसअघि हङकङ महिला अयोगको सदस्य, जातीय सद्भाव प्रवद्र्र्धन समितिको सदस्य रहेकी गुरुङ हाल याउचिमोङ डिस्ट्रिकको फायर सेफ्टी कमिटि सदस्यका रुपमा सक्रिय छिन्।
स्थानीय क्यान्टोनिज भाषामा पोख्त गुरुङ सन् २०१२ मा हङकङ सरकारको ‘चिफ एक्जिक्युटिभ कमिन्डेसन अवार्ड’ बाट सम्मानित भएकी थिइन्।
Shares
प्रतिक्रिया