हङकङमा पनि नेपालीले टोपी दिवस मनाएका छन्। नयाँ वर्ष सन् २०२० का दिन बुधबार हङकङको काउलुन चिम सा चुईस्थित पर्यटकीय क्षेत्र स्टारफेरीमा भेला भई हङकङवासी नेपालीले दिवस मनाएका हुन्। नेपालको राष्ट्रिय टोपी दिवस अंग्रेजी नयाँ वर्षको पहिलो दिन पर्छ।
कार्यक्रममा दौरा-सुरुवाल र नेपाली ढाका टोपीमा सजिएर सहभागीहरूले आपसमा शुभकामना आदनप्रदान गरेका थिए। साथै नेपाल भ्रमण वर्ष २०२० को लोगोसमेत प्रदर्शन गरिएको थियो।
आयोजक टोपी प्रतिष्ठानका हङकङ संयोजक कृष्ण पाण्डेले टोपी नेपालीको राष्ट्रिय पहिचान भएको तथा राष्ट्रिय एकतामा बाँध्ने महत्त्वपूर्ण साधन भएको नेपालखबरसँग बताए। टोपी शिरमा लगाइने हुँदा स्वाभिमानको प्रतीकसमेत भएको उनले बताए।
महावाणिज्यदूत कमलप्रसाद भट्टराईले नेपालखबरसँग भने, ‘हाम्रो नेपाली टोपी संसारभर प्रयोग हुने टोपीभन्दा छुट्टै बनावट र आकर्षक छ। जुन परापूर्वकालदेखि प्रयोग भइरहेको छ, यसले हामीलाई छुट्टै पहिचान दिलाउँछ।’
नेपाली ढाका टोपी नेपालबाहेक संसारका कुनै ठाउँमा उत्पादन नहुने भएकाले टोपी दिवसको छेकोमा हाम्रो विशिष्ट पहिरन, पहिचान, कला, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै नेपाली हस्तकलालाई विश्वव्यापी बनाउन सके टोपी दिवसको औचित्य पूरा हुने उनको धारणा छ।
कार्यक्रममा नेपाली महावाणिज्यदूत भट्टराईलगायत आयोजक समितिका सदस्य, विभिन्न संघ/सस्थाका अगुवालगायत सहभागी भएका थिए।
टोपी दिवस प्रचार प्रसारका लागि आयोजक समूह गुरुङ समुदायले मङ्की हिलमा मनाइरहेको चाड ल्होसारमा समेत पुगेका थिए।
नेपालमा टोपी प्रतिष्ठान स्थापना गरेर सुरु गरिएको टोपी दिवस विश्वभरिका नेपालीले अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिखमा मनाउने गर्छन्। हङकङमा गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।
प्रतिक्रिया