हङकङका मिडिया टाइकुन जिम्मी लाइले विदेशी वकिल राख्न पाउने कि नपाउने भन्ने विषयमा हङकङकै नेता वा यससम्बन्धी कुनै निरीक्षण समितिले निर्णय गर्नेसक्ने भएका छन्।
जिम्मी लाइले बेलायती वकिल राख्ने प्रयास गरेपछि बेइजिङले लागू गरेको सुरक्षा कानुनका प्रतिवादीले विदेशी वकिल राख्न पाउने कि नपाउने भन्ने बहस सुरु भएको थियो। यसमा चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले शुक्रबार निर्णय दिएको हो। यही साता सो समितिको चार दिने बैठक बेइजिङमा बसेको थियो।
सुरक्षा कानुनको दुइटा व्यवस्थालाई प्रस्ट्याउँदै यो हङकङ आफैँले निर्णय गर्नुपर्ने विषय भएको निर्क्यौल बेइजिङले गरेको हो। सो व्यवस्थाबारे प्रष्ट पार्न प्रमुख कार्यकारी जोन लीले बेइजिङलाई अनुरोध गरेका थिए।
हङकङका सरकारी वकिलहरुले जिम्मी लाइलाई बेलायती वकिल राख्न नदिने प्रयास गरेका थिए। नोभेम्बरमा उनीविरुद्धको सुनुवाइ हुनुभन्दा दुई दिनअघि मात्र सुनुवाइ स्थगित गर्न उनीहरुले माग गरेका थिए।
उनीहरुको सो प्रयासलाई हङकङको उच्च अदालतले रोकिदिएको थियो।
प्रमुख कार्यकारी लीले एक पत्रकार सम्मेलन गर्दै बेइजिङको सो निर्णयको स्वागत गरेका छन्।
Shares
प्रतिक्रिया