हङकङको भन्सार विभागले गत जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा ६.६ टन लागूऔषध समातेको छ।
उक्त लागूऔषध ३ अर्ब १० करोड हङकङ डलरबराबरको रहेको साउथ चाइना मर्निङ पोस्टले बताएको छ। हङकङमा २० वर्षयताकै धेरै मात्रामा लागूऔषध बरामद गरिएको हो।
समग्रमा समातिएको लागूऔषधमध्ये आधाभन्दा धेरै मेथाम्फेटामाइन छ। यो लागूऔषध मेक्सिकोबाट विशेषगरी हवाई र समुद्री मार्ग हुँदै आउने गरेको छ। अन्य लागू औषधमा ६९२ किलो कोकिन, ५४० किलो केटामाइन, ४१९ किलो कानाबिस र ८८ किलो हेरोइन रहेका छन्।
यसअघि सन् २०२१ मा समग्र वर्षमा ४ टन लागूऔषध बरामद गरिएको थियो भने २०२० मा ३.४ टन लागूऔषध बरामद गरिएको थियो।
यति धेरै मात्रामा लागू औषध बरामद भए पनि हङकङका सहायक कमिस्नर इडा एनजी किट–चिङ भने हङकङ लागूऔषध ओसारपसारको ट्रान्जिट हब भने नबनेको दाबी गर्छन्। उनले पछिल्लो समय लागू औषधको ओसारपसार रोक्न थप सतर्कता बढाइएको बताएका छन्।
मेनल्याण्डसँगको सीमा खोल्ने तयारी भइरहेको समयमा आगामी दिनमा स्थल नाकाबाट लागूऔषध ओसारपसार हुन सक्ने जानकारहरुले आशंका पनि व्यक्त गरेका छन्।
Shares
प्रतिक्रिया