हङकङमा कोभिड–१९ को नक्कली खोप कार्ड बनाउन सहयोग गरेको आरोपमा शुक्रबार तीनजना महिला पक्राउ परेका छन्। पाँच सय मानिसलाई नक्कली खोप कार्ड बनाउन सहयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
हङकङको प्रहरीले दिएको जानकारीअनुसार अहिले पक्राउ पर्ने महिला ५६ देखि ७१ वर्ष उमेर समूहका छन्। प्रहरीका अनुसार उनीहरुले डाक्टर टाइ कोङ–शिङमार्फत नक्कली कार्ड बनाएबापत तीन सय हङकङ डलर कमिसन लिने गरेका थिए।
उनीहरु गत अगष्टदेखि सेप्टेम्बरको बीचमा यो कार्यमा संलग्न थिए। डाक्टर टाइ यसअघि नै नक्कली खोप कार्ड दिएको आरोपमा पक्राउ परिसकेका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार अहिले पक्राउ परेका तीन महिलामध्ये एक महिला ब्युटी पार्लरकी मालिक हुन्। अर्की एक महिला बिमा एजेन्ट हुन् भने एक महिला गृहिणी हुन्।
प्रहरीका अनुसार पक्राउ परेका तीनैजनामाथि अहिले सोधपुछ चलिरहेको छ र उनीहरुमाथि कुनै मुद्दा दायर गरिएको छैन।
गत महिना नक्कली खोप कार्ड वितरण गरेको आरोपमा प्रहरीले ६ जना डाक्टरलाई पक्राउ गरेको थियो। जसमध्ये टाइ पनि एक हुन्।
यसअघि सरकारले यी ६ जना डाक्टरले वितरण गरेको २० हजार खोप कार्ड रद्द गर्ने निर्णय गरेको थियो। यद्यपि यो निर्णयको वैधतामाथि भने अहिले प्रश्न उठेको छ।
Shares
प्रतिक्रिया