चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको एक अदालतले हङकङ स्वतन्त्रता आन्दोलनमा सहभागी भएका पाँच युवालाई तीन वर्षसम्म तालिमकेन्द्रको हिरासतमा राख्न शनिबार आदेश दिएको छ।
अदालतले हङकङको स्वतन्त्र माग्दै चीन विरोधी प्रदर्शनमा ती पाँच युवाको संलग्नता देखिएकाले यस्तो सजाय सुनाएको जनाएको छ।
सन् २०२१ जनवरीदेखि मे महिनासम्म हङकङमा भएको चीन विरोधी प्रदर्शनलाई पश्चिमा मुलुक खासगरी अमेरिकाको समर्थन रहेको आरोप बेइजिङले लगाएको थियो। सडक र सामाजिक संजालबाट २० भन्दा बढी युवा समूहले प्रदर्शन चर्काएपनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो।
हङकङ प्रहरीले प्रदर्शनकारीले स्थानीय एक गोदाममा लुकाएर राखेको ठूलो परिमाणको हतियार बरामद गरेको थियो। त्यसैगरी उनीहरुका घरबाट पनि एयर गन, लाठी, खुकुरी, हेल्मेट र भेस्ट पनि प्रहरीले बरामद गरेको थियो।
अमेरिका र पश्चिमा मुलुकले चीनले प्रदर्शन बर्बरतापूर्वक प्रदर्शन दबाएको आरोप लगाएका थिए।
चीनको राष्ट्रिय सुरक्षा कानुन अनुुसार अब ती युवालाई तीन वर्ष तालिमकेन्द्रको हिरासतमा राख्न अदालतले स्थानीय प्रशासनलाई आदेश दिएको साउथ चाइना मर्निङ् पोस्टले जनाएको छ।
सजाय पाएका पाँच युवामा वान चुङवाई, युएनका हिम, लियुङ युङवान, क्वोक मन हेइ र सियुङ चाउ चियाङ यु छन्। उनीहरु सबैको उमेर १७ वर्षको छ र सबै माध्यमिक तहका विद्यार्थी पनि हुन्। कम उमेरका भएकाले ती युवालाई न्यून सजाय दिइएको अदालतले जनाएको छ।
त्यसैगरी २६ वर्षका एक सेल्सम्यान क्रिस चान याउ सुन र अर्का स्थानीय पसले २१ वर्षका चोइ विङ किटलाई पनि तीन वर्ष हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
ती युवाले हङकङको स्वतन्ता माग गदैृ चीन विरोधी प्रदर्शनमा सामेल भएको स्वीकार गरेपछि उनीहरुलाई उक्त सजाय सुनाइएको हो। सजाय पाएका युवा मध्ये युएन र चोइले स्थानीय प्रशासनको अनुमति बिना नियतवश नै रेडियो उपकरण र हतियार राखेको स्वीकार गरेका छन्। जेल सजाय सुनाइएकाहरु रिटर्निङ् भ्यालियन्ट ग्रुपमा आवद्द थिए। उक्त समूह हाल निष्क्रिय छ। समूहले दुई वर्षअघि हङकङ स्वतन्त्रताको माग गर्दै प्रदर्शन गरेपछि चीनको केन्द्र सरकारले हस्तक्षेप गरेको थियो।
चीनको संसद नेशनल पीपुल्स कंग्रेसले प्रदर्शन नियन्त्रण गरी हङकङमा शान्ति सुरक्षा कायम गर्न एक कानुन समेत ल्याएको थियो। त्यही कानुनलाई टेकेर स्थानीय अदालतले शनिबार ती युवालाई सजाय सुनाएको हो। उक्त कानुनलाई चुनौति दिएर प्रदर्शन गर्दा हङकङको शान्ति र अमनचयन खलबलिएको चीनको केन्द्र सरकारको भनाइ थियो।
Shares
प्रतिक्रिया