हङकङले आफ्नो अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको दर्जा कायम राख्न क्वारेन्टिनको नियम हटाउनुपर्ने विभिन्न संघसंस्थाहरुले बताएका छन्।
सोमबार हङकङको लगानी कोष संघ (एचकेआईएफए)ले बाहिरी दुनियाँसँग पुनः जोडिनको लागि सबैभन्दा पहिला क्वारेन्टिनरहित भ्रमणको व्यवस्था गर्नुपर्ने बताएको हो।
एचकेआईएफएले गरेको प्रस्तावमा व्यावसायिक क्षेत्रका व्यक्तिहरु र लगानीकर्ताहरुलाई पुनः हङकङमा आकर्षण बढाउन पनि क्वारेन्टिनरहित भ्रमणको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
एसोसिएसनका अध्यक्ष नेल्सन चोउ किन हुङले क्वारेन्टिनको व्यवस्थाकै कारण हङकङप्रतिको लगानीकर्ताहरुको आकर्षण बढ्न नसकेको बताए। अन्तर्राष्ट्रिय लगानीकर्तालाई अहिले अघि सारिएको क्वारेन्टिनको अवधि छोट्याउने नीतिले पनि तान्न नसक्ने उनको भनाइ छ।
एचकेआईएफएअन्तर्गत हङकङका ५२० खर्ब अमेरिकी डलरको सम्पत्ति भएका कम्पनी पर्छन्। अहिले हङकङमा क्वारेन्टिनको अवधि ७ दिनबाट घटाएर ३ वा ४ दिनमा झार्ने र बाँकी अवधि होम आइसोलेसनको व्यवस्था गर्ने योजना अघि सारिएको छ।
त्यस्तै विभिन्न रङको आधारमा पनि कोरोना संक्रमणको जोखिम मापन गर्ने तयारी भइरहेको छ। तर, यसले पनि लगानीकर्तालाई हङकङमा आकर्षित गर्न नसकिने एचकेआईएफएको दाबी छ।
हङकङको अन्य मुलुकसँगको सीमाका साथै बेइजिङसँगको सीमा खोल्नु पनि उत्तिकै महत्वपूर्ण रहेको चोउले बताए।
एचकेआईएफएले आन्तरिकरुपमा गरेको सर्वेक्षणको क्रममा पनि मानिसहरुले हङकङको क्वारेन्टिनको विषयमा चिन्ता व्यक्त गरेका थिए। उनीहरुले क्वारेन्टिन घटाउने निर्णयले पनि आफूहरु त्यति उत्साहित नरहेको बताएका थिए।
एचकेआईएफएले सरकारलाई सीमापार योजनामा गरिएको कडाइ हटाउन पनि आग्रह गरेको छ।
Shares
प्रतिक्रिया