जिल्ला परिषद्को निर्वाचनमा लोकतन्त्र पक्षधरहरुले ऐतिहासिक जित हात पारेको एक हप्तापछि हङकङमा पुनः प्रदर्शन सुरु भएको छ।
आइतबार भएको प्रदर्शनमा ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन्। आन्दोलनकारीले थुप्रै पसल तोडफोड पनि गरेका छन्।
करिब दुई साताको शान्तिपछि हङकङमा प्रदर्शन सुरु भएको हो। आइतबार साँझ काउलुनमा प्रदर्शनकारीको एक समूहले प्रहरीमाथि इँट्टा बर्साएका थिए। जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
म सा सुइ, ह्वाम्पोआजस्ता क्षेत्रमा तोडफोड भएको छ। कम्तीमा तीन प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ।
आइतबार रातिको झडपपछि कम्तीमा आठ जना अस्पताल भर्ना भएका छन्।
हङकङमा विपक्षीहरु पाँच वटा माग राख्दै प्रदर्शनमा उत्रिएका हुन्। जसमध्ये सुपुर्दगी सन्धि विधेयक खारेज गर्नुपर्ने माग भने पूरा भइसकेको छ।
पछिल्लो केही महिना सप्ताहन्तको प्रदर्शन हिंसात्मक बन्दै गएको छ।
प्रतिक्रिया