हङकङमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुतर्फ उन्मुख देखिएको थियो।
बुधबार हङकङमा १३० नयाँ संक्रमित थपिएका छन्। जसमा ४० आयातित संक्रमित छन् भने ९० स्थानीयरुपमा थपिएका नयाँ संक्रमित छन्।
यससँगै चिनियाँ नयाँ वर्ष लुनारपछि पनि हङकङमा भौतिक दुरीमा कडाइको नियम कायम रहन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। यस विषयमा बिहीबार हङकङ प्रमुख क्यारी लामले महत्वपूर्ण घोषणा गर्न सक्ने समाचारमा उल्लेख छ।
बुधबार भेटिएका ४० आयातित संक्रमितमध्ये काठमाडौंबाट गएको फ्लाइटका पनि एकजनामा संक्रमण पुष्टि भएको थियो। यसअघि हङकङमा सन् २०२० जुलाई ३० मा १४९ नयाँ संक्रमित थपिएका थिए।
दैनिक नयाँ संक्रमितको यो संख्या कोभिड–१९ को महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो।
हङकङको चोइ वोन स्टेट हाउजिङमा पनि कोरोना संक्रमण फैलिएको छ। यसअघि क्वाई चुङ स्टेट हाउजिङको विभिन्न ब्लकहरुमा पनि कोरोना संक्रमण फैलिएको थियो।
उक्त हाउजिङ ३ ब्लकलाई ५ देखि ७ दिनका लागि लकडाउन गरिएको छ। अहिले हङकङमा ओमिक्रोन र डेल्टा दुवै भेरियन्टसहितका संक्रमितको कारण व्यापक मात्रामा संक्रमण फैलिएको छ।
Shares
प्रतिक्रिया