बेलायतमा त्यहाँस्थित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘विन्टर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले जितेका छन्।
शनिबार वेल्विन गार्डेन सिटीस्थित गिल्सिङ टेनिस एकाडेमीको इन्डोर टेनिस सेन्टरमा सम्पन्न प्रतियोगिताअन्तर्गत मिन्स सिङ्गल्स डिभिजन एतर्फको फाइनल खेलमा शीर्ष वरीयताका वारोक राई दोस्रो वरीयताका तारामान गुरुङलाई ६–३ अन्तरमा हराउँदै च्याम्पियन बनेका हुन्।
समयाभावका कारण १ सेट मात्र खेलाइएको फाइनल खेलमा वारोकले ५–१ को अन्तरले अग्रता लिएका थिए। दुई च्याम्पियनसिप प्वाइन्टको मौकालाई वारोक कन्भर्ट गर्नबाट चुके। तारामानले वारोकको सर्भ ब्रेक गर्दै दबाब सिर्जना गरेका थिए। तर अन्ततः कन्सिस्टेन्ट पावरफुल बेसलाई ग्राउन्ड स्ट्रोकले तारामानलाई अन्फोर्स एरेर गराएर वारोक विजयी हुन सफल भए।
वारोक बेलायतमा आईटीएफ खेलाडी हुन् भने तारामान नेपालका पूर्वजुनियर राष्ट्रिय खेलाडी। हालसम्म वारोक र तारामानबीच हेड टु हेड रेकर्ड ३-० छ।
त्यसैगरी डिभिजन बी, सी र डीतर्फ नमराज गुरुङ, ललित मल्ल र दीपक गुरुङले क्रमशः राजन फुँयाल, मोती घले र बलकृष्ण राईलाई हराएर विजेता बनेका छन्।
प्रतियोगितामा कूल ३२ खेलाडी सहभागी भएका थिए।
विजेता खेलाडीहरुलाई क्लबका अध्यक्ष हर्क गुरुङले ट्रफी प्रदान गरेका थिए।
क्लबले हरेक वर्ष विन्टर, स्प्रिङ, समर र औटम गरी ४ प्रतियोगिता सञ्चालन गर्ने गरेकाे छ।
Shares
प्रतिक्रिया