हङकङमा सरकार विरोधी आन्दोलन ६ महिनामा प्रबेश गर्दै गर्दा सोमबार चरम हिंसा भएको थियो।
सोमबार बिहान प्रहरीले आन्दोलनकारी माथि गोली चलाए भने अपरान्ह आन्दोलनकारीहरुले सरकारका एक समर्थकलाई जिउँदै जलाए।
सोमबार साँझ यसै सन्दर्भमा सम्बोधन गर्नका लागि क्यारी लामले प्रेस ब्रिफिङको अयोजना गरेकी थिइन्।
बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेटघाट भएको एकहप्ता पछि आयोजित उक्त प्रेस ब्रिफिङमा लामले हिंसात्मक गतिविधिमा सङ्लग्न हुने आन्दोलनकारीहरुलाई जनताको शत्रु भनेकी हुन्।
लामले प्रदर्शनकारीको विनाशकारी व्यवहारविरुद्ध सबै एकजुट हुनुपर्ने भन्दै सोमबार ज्युँदो मान्छे जलाइएको घटनाको निन्दा गरिन्।
सोमबार ज्युँदै आगो लगाइएका व्यक्ति
‘यदी कसैले हिंसालाई बढवा दिएर सरकारलाई अप्ठ्यारोमा पारी तथाकथित राजनीतिक मागहरू पूरा गर्न सरकारलाई दबाब दिने कुचेष्टा राख्छ भने म स्पस्ट भन्छु कि त्यस्तो कदापी हुने छैन, पाँच महिना बाट सडक तताउनेहरुको जित कहिल्यै हुने छैन।’ उनले भनिन्,‘हङकङमा जारी हिंसाले कुनै समाधान दिन सक्दैन। त्यसैले हाम्रो संयुक्त प्राथमिकता हिंसा अन्त्य गर्नु हो। हङकङलाई जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्काउनु हो।’
यस्तै प्रहरी दमनले आन्दोलन थप चर्किएको बिषयलाई लामले अस्विकार गरेकी छिन्। उनले भनिन्,‘प्रहरी बलले नियन्त्रण र संयमता गुमाएको छ भन्नु गलत हो।’
लामले मानिसहरूलाई सामाजिक सन्जालका अफवाहमा विश्वास नगर्न आग्रह गर्दै आन्दोलनकारीहरुको गतिविधिका कारण उत्पन्न जोखिम परिस्थितिबाट टाढा रहन भनेकी छिन्। यी विषयहरु पत्रकारलाई पनि लागू हुने उनले बताएकी छिन्।
प्रेस ब्रिफिङका क्रममा लामको साथमा सुरक्षा सचिव जोन ली, यातायात सचिव फ्रान्क चान, स्वास्थ्य सचिव सोफिया चान र शिक्षा सचिव केभिन येउङ उपस्थित थिए।
सोमबारको हिंसात्मक झपडमा प्रहरीले अश्रु ग्याँस प्रहार गर्दा आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका थिए। प्रदर्शनकारीले व्यापक तोडफोडसहित आगजनी गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए।
अधिकारीहरुका अनुसार प्रहरीसँगको झडपमा क्रममा धेरै मानिसहरु घाइते भएका थिए। तीमध्ये ९९ घाईतेको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सोमबारको प्रदर्शनमा २६० भन्दा बढी आन्दोलनकारीहरु पक्राउ परेका छन्।
अन्दोलनका कारण सोमबार हङकङमा २० भन्दा बढी रेलवे स्टेशनहरू बन्द भएका थिए।
सोमबारको झपडपछि कट्टरपन्थी प्रदर्शनकारीहरूले मंगलबार बिहान ६ बजे बाटै शहरव्यापी यातायात अवरुद्ध गर्न सडकमा उत्रिएका छन्। सडक यातायात र रेल सेवाहरु अबरुद्ध भएका छन् भने सम्भावित खतरालाई नियन्त्रण गर्न प्रहरीहरु व्यापक रुपमा परिचालन भएका छन्।
सोमबारजस्तै मङ्गलबार पनि हङकङको अवस्था तनावग्रस्त छ।
प्रतिक्रिया