नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट ७ केजी ९ सय ७७ ग्राम अवैध लागुऔषध चरेस बरामद भएको छ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ५ का ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका ५ का ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी गाउँपालिका १ का काठमाडौं बौद्द नयाँबस्तिस्थित सिलाई बुनाई काम गर्ने दिनदयाल महतो उराव, उक्त कोठामा बसेका दिपेन्द्र महतो उराव, मकवानपुर थाहा नगरपालिका ११ बस्ने ४५ वर्षीय रबि मोक्तान र धादिङ थाक्रे गाउँपालिका ३ बस्ने २३ वर्षीय मोतीलाल तामाङ रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले यही असोज १४ गते ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र त्यसमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेश सहित अन्जित थापालाई पक्राउ गरेको थियो।
थप अनुसन्धानको क्रममा सोही दिन अन्जितलाई उक्त सामान दिने सुजनलाई पक्राउ गरी सुजनलाई समेत चरेस दिने जालिन्द्रलाई पक्राउ गरेको हो।
जालिन्द्रको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टिभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेस र २ डब्बा फेबिकोल, २ थान फलामको हेक्सा ब्लेड, २ थान छिनो, १ थान चक्कु, २ थान हतौडा, १ थान धार लगाउने सिल्ली, २ थान फलामको ढुङ्ग्रो, ४ रोल -यापिङ टेप बरामद भएको ललितपुर प्रहरीले जनाएको छ।
असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको १ सय १३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८ सय ७५ ग्राम चरेस, ३ थान डिजिटल तराजु, १ थान सिलाई मेशिन, १ थान रोलिङ मेशिन, २ थान फेबिकोल, विभिन्न १७ थान हस्तकला, ६ थान थाङ्का लगायतका सामान र नगद १ लाख रुपैयाँ सहित दिनदयाल र दिपेन्द्र महतोलाई पक्राउ गरिएको ललितपुर परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्।
त्यहि दिन जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई उनकै कोठाबाट ९ ग्राम ५ सय मिलिग्राम लागुऔषध चरेससहित पक्राउ गरेको थियो।
असोज १६ गते रविलाई चरेस उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको छ। उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेस संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरूमा चरेस लुकाई कार्गोबाट हङकङ पठाउने गरेको पाइएको छ।
पक्राउ परेका विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
Shares
प्रतिक्रिया