हङकङमा तीन जना घरेलु कामदारले चर्चित व्यवसायी डेभिड लियाङ चोङ होउ र उनकी पत्नी हेलेन फ्रान्सेसको घरबाट १.४ करोड हङकङ डलरबराबरको बहुमूल्य सामान चोरेको स्वीकार गरेका छन्।
बिहीबार उच्च अदालतमा उनीहरुले सामान चोरेर सस्तोमा विभिन्न पसलमा बन्धकी राखेको जानकारी गराइएको छ।
घरेलु कामदार कार्मेलिता गाले नोन्सले ती सामान चोरेकी थिइन्। २०१८ देखि ०१९ सम्ममा उनले दुई वटा पियाजे घडी, दुई वटा सुनको पट्टा, ६८ इयररिङ, ४० नेकलेस, २५ औँठी र ३७ चुरालगायतका गहना चोरेकी थिइन्।
उनले घरेलु कामदारकै रुपमा काम गर्ने दुई आफन्त म्यारिक्रिस गाले नोन्स र क्रिस्टिना नोबल अलग्नामार्फत पाँच वटा पसलमा केही सामान बन्धकी राखेकी थिइन्।
प्रहरीले सामान बन्धकी राख्ने पसलहरुको निरीक्षणका क्रममा जुलाई २०१९ मा सो चोरी पत्ता लगाएका थियो। सोही वर्षको सेप्टेम्बरमा कार्मेलिता पक्राउ परेकी थिइन्।
उनको कोठामा पनि केही गहना फेला परेको थियो।
बन्धकी राखिएका सामान छुटाउन हेलेनले २० लाख हङकङ डलर खर्च गरिन्। तर, सबै सामान उनले पाउन सकिनन्।
कार्मेलिताले ६० लाख डलर पर्ने सामान करिब ७ लाख डलरमा बन्धकी राखेकी थिइन्।
२ लाख हङकङ डलर पर्ने पियाजे घडी मात्र १७ हजार डलरमा बन्धकी राखिएको थियो। तर, ती घडी भने फेला परेनन्।
उनीहरुलाई सेप्टेम्बर ७ मा सजाय सुनाइने छ। एससीएमपी
Shares
प्रतिक्रिया