पर्साको ४ वटा प्रतिनिधिसभा क्षेत्रमध्ये ३ वटा प्रतिनिधिसभा क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
मतपरिणाम अनुसार पर्साको २ वटा प्रतिनिधिसभा क्षेत्रमा कांग्रेस र पर्साको १ क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन्। मतपरिणाम सार्वजनिक हुन बाँकी पर्सा ३ मा कांग्रेसकै उम्मेदवारले अग्रता राखेका छन्।
पर्साको निर्वाचन क्षेत्र नम्बर–१ मा भने जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले जित निकालेका छन्। प्रदीपले २२ हजार ५३७ मत ल्याउँदै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत ल्याउँदा राप्रपाका किरणमान डंगोलले २ हजार ६५९ मत ल्याएका छन्।
त्यस्तै, पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा कांग्रेसका अजयकुमार चौरसिया भारी मतान्तरले निर्वाचित भएका छन्। चौरसियाले जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। चौरसियाले २८ हजार ४५१ मत ल्याएका छन् भने कुर्मीले २२ हजार ४४५ मत ल्याए।
चौरसिया तेस्रो पटक सांसदमा निर्वाचित भएका छन्। २०५६ र २०६४ को निर्वाचनमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्रीसमेत बनेका थिए।
उता, पर्सा–३ मा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले अग्रता लिइरहेका छन्। चौधरीले १९ हजार ५१७ मत पाएका छन् भने नेकपा एमालेका राजकुमार गुप्ताले १९ हजार २३९ मत पाएका छन्।
नेपाल सुशासन पार्टीका राजकुमार यादवले ९ हजार १० मत पाएका छन्। ९० हजार ४३२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ४४८ मत खसेको थियो।
त्यस्तै, पर्साको निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले त्यहाँ नेकपा एमालेका जालिम मियाँ अन्सारीलाई पराजित गर्दै जित निकालेका हुन्। रिजालले ३१ हजार १४२ मत ल्याएर विजयी हुँदा जालिमले २५ हजार ६१२ मत ल्याए।
प्रदेशसभातर्फ पर्साको आठवटै निर्वाचन क्षेत्रको नतिजा पनि सार्वजनिक भइसकेको छ।
पछिल्लो मतपरिणामअनुसार पर्सा क्षेत्र नम्बर–१ (क) मा नेकपा माओवादी केन्द्रका रहवर अंसारी विजयी भएका छन्। उनले ७ हजार ८१७ मतसहित विजयी हासिल गरेका हुन्। नेकपा एमालेका विचारीप्रसाद यादव दोस्रो भएका छन्। उनले ५ हजार ५१८ मत पाएका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जनत अंसारीले ५ हजार २८६ मत पाए।
प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी थिए।
त्यस्तै, पर्सा–१ (ख) बाट ७ हजार ५४५ मत ल्याएर प्रदेशसभा सदस्यमा मुख्यमन्त्री लालबाबु राउत पुनः निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन्।
पर्सा–२ को (क)मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन्। निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामनरेशप्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल निर्वाचित भएका हुन्। पटेलले १३ हजार ७८४ मत पाउँदा यादवले १२ हजार १२७ मत ल्याए।
पर्सा–२ को (ख) मा लोकतान्त्रिक समाजवादी पार्टीका रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। कुर्मीले ९ हजार ४७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रुपेशमान सिंहले ६ हजार ८३४ मत मात्र प्राप्त गरे।
पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका कुर्मी यसअघि पनि सोही क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए। कुर्मीले यसअघि नेपाली कांग्रेसका रामरूप कुर्मीलाई पराजित गरेका थिए।
त्यस्तै, क्षेत्र नम्बर–३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी भएका छन्। ७ हजार २८१ मत ल्याएर उनी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अबदुलरहिम अन्सारी ५ हजार ९३० मत प्राप्त गरि दोस्रो स्थानमा समेटिए।
यसअघि सो क्षेत्रबाट २०७४ सालको चुनावमा तत्कालिन जसपाका अबदुलरहिम निर्वाचित भएका थिए।
पर्सा क्षेत्र नम्बर–३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जर्नादन सिंह क्षेत्री विजयी भएका छन्। उनले ११ हजार २८४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी मधु गुप्ताले ७ हजार ४९६ मत प्राप्त गरिन्।
नेकपा एकीकृत समाजवादीका प्रह्लाद गिरी गोस्वामी ६ हजार ५०३ मत ल्याएर तेस्रो स्थानमा सिमित रहे।
पर्सा ४ (क)मा नेपाली कांग्रेसका शंकर चौधरी निर्वाचित भएका छन्। चौधरीले १२ हजार १ सय ५४ मत ल्याएर एमालेका जयप्रकाश थारुलाई पराजित गरेका हुन्। थारुले १० हजार ४ सय ३८ मत ल्याए।
Shares
प्रतिक्रिया