विषालु सर्पको टोकाइबाट सर्लाहीमा एक बालकको मृत्यु भएको छ।
बागमती नगरपालिका १२ का कुमार विकका छोरा ४ वर्षीय सलिन विकको विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो।
गएराति (आइतबार राति) १० बजे बालकलाई ओछ्यानमै सर्पले टोकेको थियो।
अवस्था गम्भीर बनेपछि बालकलाई राति करिब १२ बजे उपचारका लागि सर्लाहीकै नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो।
केन्द्रमा ल्याउनासाथ डाक्टरले बालकलाई मृत घोषणा गरेको सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलले जानकारी दिए।
‘हामीकहाँ ल्याउँदा बालकको मृत्यु भइसकेको थियो’, पौडेलले भने, ‘हामीले बालकलाई उपचार सुरु गर्नै पाएनौँ।’
सर्पले टोकेपछि ढिलागरी बालकलाई उपचारमा ल्याउँदा बचाउन नसकिएको उनले बताए।
स्थानीयका अनुसार बालकको बुवा वैदेशिक रोजगारीमा छन्। उनकी आमा आफन्तको मृत्यु भएपछि केही दिनअघि मात्रै झापा गएका बेला घटना भएको हो। बालक घरमा सानीआमासँग बस्थे।
सर्पले टोके पनि गएराति बालकका अभिभावकले सर्प देखेका थिएनन्।
औँलामा रगत बगिरहेको देखेपछि बालकलाई सर्पले टोकेको अनुमानसहित अस्पताल पुर्याइएको थियो।
आज बिहान बालक सुतेको ओछ्याननजिकै गोमन सर्प फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार बालकको मृत्यु भएपछि फेला परेको गोमन सर्पलाई स्थानीयले बोरामा हालेर राखेका छन्। बालकको शव अहिले पनि सर्पदंश उपचार केन्द्र नवलपुरमै छ।
Shares
प्रतिक्रिया