एमालेबाट मधेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन्। मन्त्रीहरुले मंगलबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन्।
तत्कालिन सत्तारुढ गठबन्धन भत्किएपछि नेकपा एमालेका मन्त्रीहरू संघ सरकारबाट बाहिरिएका थिए। केही प्रदेशबाट पनि एमाले बाहिरिई सकेको छ। तर मधेशमा भने एमाले सरकारमा सहभागी हुनुका साथै समर्थन कायमै राखेको थियो।
संघमा नयाँ समीकरण बनेपछि एमालेका मन्त्रीहरु मधेश सरकारबाट राजीनामा दिने तयारीसमेत गरि सकेका थिए। गत चैत ९ गते राजीनामा दिने तयारी गरिए पनि एमाले र जसपाको नेतृत्वले छलफल गरेर सो राजीनामा रोकेको थियो।
बारा २ को उपनिर्वाचन मार्फत प्रतिनिधिसभा प्रवेशको बाटो खोजेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेको पनि साथ पाउने उद्देश्यले मधेश सरकारबाट एमालेका मन्त्रीहरुलाई नहटाउन निर्देशन दिएका थिए। यद्यपि बारा २ मा एमालेले पुरुषोत्तम पौडेलको उम्मेदवारी दर्ता गराएपछि मधेश सरकारबाट बाहिरिनु परेको हो।
एमालेले बारा २ मा उम्मेदवारी दिए लगत्तै जसपा अध्यक्ष यादवकै इशारामा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार राति राजीनामा बुझाउन निर्देशन दिएको स्रोतको दाबी छ।
यता, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीको निर्देशन आएका कारण आफूहरुले राजीनामा दिएको प्रतिक्रिया दिए।
मधेश सरकारमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय थिए।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री यादवसँगै गत पुस २९ गते शपथ लिएका थिए भने अन्य मन्त्रीहरु माघ २० गते सरकारमा सहभागी भएका थिए।
गत पुस २९ गते सरकारमा सहभागी भएको एमालेले ३ महिना नपुग्दै सरकारबाट बाहिरिनु परेको हो।
Shares
प्रतिक्रिया