सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि पालिकाका केही वडाध्यक्षहरूले हातपात गरेका छन्।
कार्यालय सहयोगीको भर्नाको विषयलाई लिएर हरिपुर्वा नगरपालिकामा विगत केही दिनदेखि जनप्रतिनिधीहरुबीच तनाव रहेको समयमा बिहीबार प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि केही वडाध्यक्षहरूले नगरप्रमुखको कार्यकक्षमा हातपात गरेका हुन्।
नगरपालिकाका कर्मचारीहरुले दोषीमाथि कारबाही गर्न माग गर्दै नगरप्रमुख विनोद कुमार साह समक्ष ज्ञापन पत्र बुझाएका छन्।
साथै, उनीहरुले एक प्रेस विज्ञप्ति जारी गरी प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि भएको हातपात तथा दुर्व्यवहारप्रति भर्त्सना गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत न्यौपाने नगरप्रमुख साहको कार्यकक्षमा बसेर उनीसँग कुराकानी गरिरहेको बेला लोसपाबाट निर्वाचित वडा नम्बर–२ का वडाध्यक्ष दिनेश राय, जसपाबाट निर्वाचित वडा नम्बर–३ का वडाध्यक्ष प्रमोद राय, नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर–४ का वडाध्यक्ष नोखेलाल राय, जसपाबाट निर्वाचित वडा नम्बर–७ का वडाध्यक्ष उमेश राय तथा वडा नम्बर–६ का वडाध्यक्ष रामस्वार्थ रायलगायतकाले कार्यालय सहयोगी भर्नाको विषयलाई लिएर विवाद झिक्दै प्रमुख प्रशासकीय अधिकृतमाथि गाली बेइज्जतीसहित हातपात गरेको कर्मचारीहरुले नगरप्रमुख साहलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
दोषीउपर कारबाही नभएसम्म नगरपालिकाभित्रका सम्पूर्ण कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा तथा कामकाज ठप्प रहने ज्ञापनपत्रमा चेतावनी दिइएको छ।
यता, वडाध्यक्ष रामस्वार्थ रायका अनुसार आफूहरुले कार्यालय सहयोगी भर्ना तथा प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको दिन पनि हाजिरी रजिष्टरमा हाजिरी गरेको विषयमा सोधपुछ गर्दा आफूहरुलाई हप्काएपछि सामान्य विवाद मात्र भएको बताए।
उनले आफूहरुले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि हातपात र गालीगलौज नगरेको दाबी गरेका छन्।
Shares
प्रतिक्रिया