आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले जनकपुरधामबाट एक दर्जन सवारी साधन नियन्त्रणमा लिएको छ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले प्रयोग गरेको विदेशी नम्बर प्लेटका १० वटा र डिजे लगाएर चर्को स्वरमा चुनावी गीत बजाउने दुई वटा नेपाली नम्बर प्लेट गरी १२ सवारी साधन नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका गाडी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३(क) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(ख) का उम्मेदवार दिपेन्द्र ठाकुर, धनुषा–३ कै सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३(क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादवलगायत अन्य स्वतन्त्र उम्मेदवारहरुको रहेको छ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले विदेशी नम्बर प्लेटको गाडीहरु रुपमा प्रयोग भइरहेको गुनासो आउन थालेपछि तीन दिनअघि त्यसमा रोक लगाउने निर्णय गरिएको थियो।
सोही अनुरुप शनिवार अनुगमन गर्दा ती गाडीहरु नियन्त्रणमा लिइएको बताए। उनले भने, ‘सम्बन्धित उम्मेदवारलाई पहिलो पटकका लागि हामी सचेत गराएका छौँ, तर नियन्त्रणमा लिइएका गाडी हाल हामी छाडने छैनौ ।’
निर्वाचन सम्पन्न पश्चात ती गाडीलाई कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ।
Shares
प्रतिक्रिया