महोत्तरीको माइस्थानमा स्यालको टोकाइबाट चारजना घाइते भएका छन्।
बर्दिबास नगरपालिका– ४ माइस्थानका चारजनालाई जंगल गएका बेला स्यालले टोकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
स्यालको टोकाइबाट ६३ वर्षीय तेजबहादुर राना मगर, ४० वर्षीया भिवा आले, ४५ वर्षीया लक्ष्मी स्याङ्बो र ५० वर्षीया तुलमाया मगर घाइते भएका हुन्।
घाइतेमध्ये तीनजनालाई बर्दिबासमा सामान्य उपचारपछि थप उपचारका लागि मंगलबार काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तोष पोखरेलले जानकारी दिए।
अनुहारसहित शरीरका विभिन्न ठाउँमा चोट लागेको कारण स्याङ्बो बाहेकका अरू तीनजनालाई थप उपचारका काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
जंगलमा बाख्रा चराउन गएका बेला उनीहरूलाई स्यालले टोकेको स्थानीयले बताएका छन्।
मान्छेलाई आक्रमण गर्दै हिँड्ने एउटा स्याललाई मंगलबारै छिन्नमस्ता सशस्त्र प्रहरीले गोली हानेर मारेको बर्दिबासका शिक्षक अरुण कार्कीले जानकारी दिए।
बहुलाएको कारण स्यालले मान्छेलाई टोक्दै हिँडेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
Shares
प्रतिक्रिया