महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ ‘क’मा सत्ता गठबन्धनबाटै दुई दलका नेताको उम्मेदवारी परेपछि आधिकारिकताको लडाइँ शुरु भएको छ।
सत्ता गठबन्धनबाटै सो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) की मञ्जु कुमारी यादव र लोसपाका जयनुल राइनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। दुवै उम्मेदवार औपचारिक रुपमै प्रचार प्रसारमा जुटिसकेका छन्।
तर सत्ता गठबन्धनबाटै दुई जनाको उम्मेदवारी परेपछि दुई मध्ये एक उम्मेदवारले फिर्ता लिनुपर्ने थियो। यद्यपि दुवै मध्ये कुनै उम्मेदवारले पनि उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनको आधिकारिक उम्मेदवारको विषयमा विवाद देखिएको हो।
राइनले आफू गठबन्धनको आधिकारिक उम्मेदवार रहेको भन्दै प्रचार गर्न थालेपछि त्यहाँ विवाद चुलिएको छ।
पाँचदलीय गठबन्धनबाट जसपा बाहरिएपछि नेपाली कांग्रेसले आफ्नो भाग दिएर लोसपालाई भित्र्याउने गठबन्धनभित्र सहमति भएको थियो। कांग्रेसले आफ्नो भागको सिट दिएर लोसपालाई गठबन्धनमा ल्यायो पनि।
लोसपाका राइनले उम्मेदवारी दिएको क्षेत्र महोत्तरीको २ ‘क’ पहिले नै नेकपा (एकीकृत समाजवादी) को भागमा परिसकेकाले आफू गठबन्धनको अधिकारिक उम्मेदवार रहेको यादव दावी गर्छिन्।
‘राजनीतिमा अनुशासन तथा सम्झौताको पालन अपरिहार्य हुन्छ। तर लोसपाले राइनलाई उम्मेदवारी दिन लगाएर सम्झौता विपरित कार्य गरेको छ। लोसपालाई कांग्रेसले गठबन्धनमा ल्याएको छ’, यादवले भनिन्, ‘गठबन्धनको मर्म अनुरुप सम्झौता पालन गर्न कांग्रेस र लोसपा दुवै दललाई पालन गर्न आग्रह गर्न चाहन्छु।’
कांग्रेसले लोसपालाई गठबन्धनमा ल्याउनुपूर्व नै आफूलाई टिकट दिइएकोले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको उनको भनाई थियो।
यता, अर्का उम्मेदवार राइनले पार्टी नेतृत्वले आफूलाई उम्मेदवारी दर्ता गराउन भनेकैले आफूले उम्मेदवारी दिएको स्पष्ट गरे। उनले यो गठबन्धनको विषयमा गठबन्धनमा सामेल दलका शीर्ष नेतृत्वले सहमति गरेकाले शीर्ष नेतृत्वबाटै यस विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २मा पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका शरतसिंह भण्डारी, प्रदेशसभाको लागि ‘क’ मा नेकपा एकीकृत समाजवादीकी मञ्जु यादव, लोसपाका जयनुल राइन र ‘ख’मा कांग्रेसका नागेश्वर राय उम्मेदवार छन्।
Shares
प्रतिक्रिया