बाराको निजगढ नजिकैको बकैया नदीमा ३५५.५९ मिटर लामो पुल छ। पुलको मुखमै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले ‘हेभी गाडी एकफर्ती गरिएको’ सूचना बोर्ड राखेको छ। जसमा लेखिएको छ, ‘अगाडिबाट हेभी गाडी प्रवेश गरिसकेको भए तपाईं नगर्नुहोला।’
बकैयाको पुलमा अगाडिबाट प्रवेश गरेको हेभी गाडी पार नगरुन्जेल अर्को हेभी गाडिले वारि नै रोकिनुपर्ने बाध्यता छ।
झण्डै ५० वर्षअघि सोभियत संघको सहयोगमा निर्माण भएको बकैया नदीको पुल जीर्ण र साँघुरो छ। यसैले एकैपटक धेरै भार क्षमताका दुईवटा गाडीलाई धान्न सक्ने अवस्था नभएपछि सूचना बोर्ड राखेर चालकलाई सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुदर्शन थापाले बताए।
‘बकैया पुल एकतिर जीर्ण छ, अर्कोतिर साँघुरो। यो पुल भएर ठूला सवारीसाधन दुईतर्फी सञ्चालन हुने अवस्था छैन। हामीले पुलका दुवैतर्फ मुखमा पुललाई एकतर्फी गरिएको सूचना राखेका हौँ’, थापाले नेपालखबरसँग भने, ‘यो पुलबाट धेरै भार भएका दुई ठूला सवारीसाधन एकैपटक पार हुन खोजे भने दुर्घटनाको जोखिम हुन्छ। त्यसैले पुललाई एकतर्फी गरेका छौँ।’
यो समस्या बकैया पुलको मात्रै होइन। मधेस प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्गका अधिकतर पुलको हालत बकैयाको भन्दा गतिलो छैन। बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहासहित मधेसका जिल्लाका धेरैजसो पुल जीर्ण र साँघुरा छन्। ०२८ सालअघि नै निर्माण भएका जीर्ण पुल तुरुन्तै भत्काएर नयाँ बनाउनुपर्ने अवस्था छ। तर, सडक विभागले यसप्रति ध्यान दिएको छैन।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने पसाहा र बालगंगा खोलाका पुल पनि जीर्ण छन्। अन्य खोल्सी र खहरेका छोटा पुल पनि जीर्ण र साँघुरा छन्।
रौतहट र सर्लाही जिल्लालाई जोड्ने बागमती नदीको पुल जीर्ण बनेको धेरै भयो। यो पुल भन्दा डेढ किलोमिटर दक्षिणतिर पूर्वपश्चिम रेलमार्गको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पूर्वपश्चिम रेल कहिले गुड्ने हो, ठेगान छैन। तर, दैनिक हजारौँ सवारीसाधन गुड्ने बागमती नदीमाथिको पुल भने जीर्ण र साँघुरो हुँदा पनि अर्को पुल निर्माणको अत्तोपत्तो छैन।
बागमतीको पुलबाट पनि ठूला र धेरै भार भएका मालवाहक सवारीसाधनलाई दोहोरो आवतजावतमा रोक लगाइएको छ। सर्लाहीकै लखन्देही, चापिनी, कालिन्जोर र फूलजोर खोलाका पुल पनि जीर्ण भएपछि एकतर्फी गरिएका छन्। सर्लाही र महोत्तरी जिल्लालाई जोड्ने बाँके खोलाको पुल पनि जीर्ण अवस्थामा पुगेको छ।
जीर्ण पुल भत्किएपछि नयाँ निर्माण
यसबीच पूर्वपश्चिम राजमार्गका केही पुल भासिएका छन्। भत्किएका छन्। कतिपय पुललाई मर्मत गरेर पुनः प्रयोग गरिएको छ।
केही वर्षअघि बर्खाका बेला महोत्तरी र धनुषा जोड्ने बर्दिबास नजिकैको रातु नदीको पुल भासिँदा यात्रुले महिनौँ दुःख पाए।
बर्दिबास पश्चिमको भब्सी खोलाको पुल पनि गत वर्ष बाढीले भाँचियो। दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने पुल भाँचिदा चालक र यात्रुले लामो सयमसम्म सास्ती भोग्नुपर्यो। अहिले सडक विभागले ती दुवै ठाउँमा ठूला र मजबुत पुल निर्माण गरिसकेको छ।
‘रातु र भब्सीका पुराना पुलको चौडाइ ७ मिटरजति मात्रै थियो। अहिले बनेका पुल ११ मिटर चौडाइका छन्’, सडक डिभिजन कार्यालय (जनकपुर, मुझेलिया) का प्रमुख सञ्जयकुमार मिश्रले नेपालखबरसँग भने, ‘नयाँ बनेका पुलमा मालवाहक ठूला ट्रक र बसहरूलाईसमेत दोहोरो वारपार गर्न कुनै समस्या छैन।’
रातु र भब्सीमा जस्तै बाराको दुधौरा खोलाको पुल पनि दुई वर्षअघि भाँचियो। डेढ वर्षअघि सडक विभागले त्यहाँ नयाँ पुल निर्माण सुरु गरेको थियो। तर, ठेकेदारको ढिलासुस्तीका कारण अझै त्यहाँ पुल बनिसकेको छैन।
दुधौरामा अहिले कम भार भएका सवारीसाधन बेलिब्रिजबाट चल्छन्। धेरै भार भएका मालवाहक गाडी खोलाको डाइभर्सनबाट चल्नुपर्ने बाध्यता रहेको बाराका ट्राफिक प्रहरी निरीक्षक थापाले बताए।
खोलामा बाढी आउँदा मालवाहक गाडी वारिपारि नै रोकिनुपर्छ। बेलिब्रिज एकतर्फी भएकाले पुलको मुखमा सधैँ सवारीसाधनको जाम लाग्छ। यसले यात्रामा झन्झट र जोखिम बढाएको छ।
५० वर्ष पुरानो पूर्वपश्चिम राजमार्ग नै जीर्ण र साँघुरो
पूर्वपश्चि राजमार्गलाई नेपालको ‘लाइफ लाइन’ ठानिन्छ। तर ५० वर्ष पुरानो यो राजमार्ग अहिले आफैँ जीर्ण अवस्थामा पुगेको छ। ‘पूर्वपश्चिम राजमार्गका पुल मात्रै जीर्ण भएका होइनन्, अहिले राजमार्ग आफैँ जीर्ण र साँघुरो भैसकेको छ’, सडक डिभिजन कार्यालय (चन्द्रनिगहापुर, रौतहट) का प्रमुख दरोगा प्रसादले नेपालखबरसँग भने, ‘५०/६० वर्ष पुरानो यो राजमार्ग आफैँ जीर्ण भैसक्यो। अहिलेको सवारी चाप र भारलाई ५० वर्षअघि निर्माण भएका यहाँका कुनै पनि पुलले धान्न सक्ने अवस्था छैन।’
उनका अनुसार पूर्वपश्चिम राजमार्ग २०२७–०२८ सालमा बनेको हो। त्यतिबेला यो सडक भएर दैनिक एक दर्जन गाडि पनि गुड्दैनथे। उनले भने, ‘अहिले एक घण्टामै सयौँ सवारीसाधन गुड्छन्। मालवाहक सवारीसाधनको भार पनि धेरै हुन्छ। जसले पुल र सडकलाई चाँडै जीर्ण बनाइरहेका छन्।’
सडक डिभिजन कार्यालय (मुझेलिया) का इन्जिनियर मिश्र महोत्तरी र धनुषाको सडक हेर्छन्। उनको कार्यक्षेत्र भित्र ६० वटा पुल छन्। ‘मैले हेर्दै आएको पूर्वपश्चिम राजमार्गका सबै पुल पुराना हुन्’, मिश्रले नेपालखबरसँग भने, ‘महोत्तरी र धनुषाका केही पुलको हामीले यस वर्ष सामान्य मर्मत गर्यौं। सिरहा र धनुषा जोड्ने कमला नदीको सहित कतिपय पुलको मर्मत गर्न अझै बाँकी छ।’
केही वर्षदेखि कमला नदीको पुलको पश्चिमतिरको पिल्लर भासिन थालेको छ। ‘त्यसको मर्मतको लागि हामीले सडक विभागसँग बजेट माग गरेका छौँ। बजेटको व्यवस्था भएपछि मर्मतको काम सुरु हुन्छ’, मिश्रले भने।
महोत्तरीको बेलगाछी खोलाको पुललाई बालुवाले पुरेर गत वर्षदेखि पुल माथिबाटै बाढी बग्ने अवस्थामा सिर्जना भएको थियो। केही दिनअघि मात्रै सडक डिभिजन कार्यालयले पुलको पिलरलाई छोपेको बालुवा हटाएर पुल मर्मत गरेको छ। बेलगाछी खोलाको पुलको चौडाइ साढे ५ मिटर मात्रै थियो। अहिले पुलका दायाँबायाँ वाल भत्काएर पुललाई सवा ७ मिटर बनाइएको छ। जसले गर्दा सवारीसाधन सञ्चालन केही सहज भएको छ।
पूर्वपश्चि राजमार्गका अधिकतर पुल ५० वर्ष पुराना
मिश्रका अनुसार मधेस प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्गका अधिकतर पुल कम्तीमा ५० वर्ष पुराना हुन्। पूर्वपश्चिम राजमार्ग निर्माणका क्रममा बाराको पथलैयादेखि धनुषाको ढल्केवरसम्मका पुल तत्कालीन सोभियत संघको सहयोगमा बनेका हुन्। त्यस्तै ढल्केवरदेखि पूर्वका पुल चिनियाँ सरकारको सहयोगमा निर्माण भएका हुन्। ती सबै पुल यतिबेला जीर्ण अवस्थामा छन्। कतिपय पुलमा रेलिङसमेत छैन।
पुल सुरक्षाका लागि धेरैजसो पुलको मुखमा तारजालीमा ढुंगा भरिएको छ। यसले पनि पुललाई अझ साँघुरो बनाएको छ।
‘क्रंक्रिटको आयु सामान्यतया ४० देखि ५० वर्ष मानिन्छ’, मिश्रले भने, ‘पुरानो भएपछि फलाममा पनि खिया लाग्छ। ५० वर्ष पुराना यी सबै पुल हटाएर नयाँ बनाउनुपर्ने अवस्था सिर्जना भइसकेको छ।’
धेरैजसो पुलमा कालोपत्र उप्किएर खाल्डाखुल्डी परेका छन्। सडक विभागले बेलाबेला पुल माथिका भाँचिएका रेलिङ फेर्छ। खाल्डाखुल्डी पुर्छ। तर, त्यो एक महिना पनि टिक्दैन। दुई महिनाअघि मात्रै मर्मत गरिएका सर्लाहीका लखनदेही र चापिनी खोलाका पुलमा अहिले उस्तै खाल्डाखुल्डी बनिसकेका छन्।
हिउँदमा जसोजतो सवारीसाधन सञ्चालन भए पनि वर्षातका बेला पुलमा रहेका खाल्डाखुल्डीमा पानी जम्दा समस्या हुन्छ। जीर्ण पुलबाट मोटरसाइकल र साना सवारीसाधनमा यात्रा गर्नेले अझ बढी सास्ती खेप्नुपर्छ। कतिपय बेला धेरै भार क्षमताका ठूला गाडी एकैपटक वारपार हुँदा पुलको बीचमा फस्ने गरेका छन्। त्यतिबेला घन्टौँ जाम हुने गर्छ।
जीर्ण पुल हटाउन अझै १० वर्ष लाग्ने
सडक डिभिजन कार्यालय (चन्द्रनिगहापुर) का प्रमुख दरोगाप्रसाद पूर्वपश्चिम राजमार्गका जीर्ण पुल भएको ठाउँमा नयाँ पुल निर्माण गर्न अझै १० वर्ष लाग्ने बताउँछन्।
‘जतिसुकै जीर्ण भए पनि पूर्वपश्चिम राजमार्गका सबै पुल विस्थापन हुन अब बढीमा १० वर्ष लाग्छ’, उनले नेपालखबरसँग भने, ‘पूर्वपश्चिम राजमार्ग चार लेनको बन्दै छ। त्यतिबेला यी जिर्ण अवस्थामा पुगेका सबै पुल हटाएर नयाँ र मजबुत पुल निर्माण हुनेछन्। त्यसका लागि अब कम्तीमा ५ देखि बढीमा १० वर्ष हामीले पर्खिनुपर्छ।’
पुल निर्माण गर्न राज्यले धेरै धनराशि खर्च गर्नुपर्ने भएकाले भन्नेबित्तिकै नयाँ पुल बनाउन नसकिने उनले बताए। ‘अरू चार–पाँच वर्षसम्म हामीले यिनै पुलबाट यात्रा गर्नुपर्ने अवस्था छ। राजमार्ग चार लेनको बनेपछि त्यहीअनुसारका पुल बन्नेछन्। त्यतिबेलासम्म सास्ती यस्तै हो’, उनले भने।
Shares
प्रतिक्रिया